आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ७७ प्रतिशत राजस्व, अघिल्लो वर्षभन्दा ३ अर्ब कम



काठमाडौं । आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको छ । विभागले गत आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा आइतबार बेलुकासम्म ४ खर्ब ८० अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको हो ।

लक्ष्य भन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको विभागले अघिल्लो वर्ष (आर्थिक वर्ष २०७९/८०) भन्दा पनि ३ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्षमा विभागले ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । सरकारले अघिल्लो वर्षमा संकलन भएभन्दा २९ प्रतिशत बढी राजस्व उठाएको लक्ष्य दिएकोमा विभागले अघिल्लो वर्ष भन्दा ३ अर्ब कम राजस्व उठाउन सकेको हो ।

असार महिनामा पनि विभागले अघिल्लो वर्ष बराबर राजस्व उठाउन सकेन् । गत वर्ष असार मसान्तमा ७३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले यो असारमा ७२ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

गत वर्ष जेठ मसान्तसम्म ४ खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले यो वर्ष जेठ मसान्तसम्म ४ खर्ब ८ अर्ब रुपैयाँ संकलन गरेको थियो । जेठ मसान्तसम्म लक्ष्य भन्दा निकै पछाडी भएपनि अघिल्लो आर्थिक वर्षभन्दा २ अर्ब रुपैयाँ मात्रै कम राजस्व सकलन भएको थियो ।

तर, असारमा गत वर्ष बराबर पनि राजस्व संकलन नभएपछि समग्र राजस्व लक्ष्य प्रभावित भएको हो । बैंक वित्तीय संस्थाबाट अपेक्षा अनुसार राजसेव नउठ्नुको साथैं मदिरा र अटोमोबाइल व्यवसायीबाट गत वर्षभन्दा कम राजस्व उठेकाले समग्र राजस्व लक्ष्य प्रभावित भएको आन्तरिक राजस्व विभागका अधिकारीहरु बताउँछन् ।

विभागले यो वर्ष साउन देखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

विभागले साउनमा ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । भदौमा ३१ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

त्यसैगरी, असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।
पुसमा १ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ७१ अर्ब ३१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो।

विभागले माघमा ३९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष माघमा ३१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

फागुनमा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ९८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष फागुनमा २८ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको थियो ।

चैतमा ८३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिए पनि विभागले ५५ अर्ब २ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।

बैशाखमा ५१ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३४ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

जेठ महिनामा ५३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३६ अर्ब ९९ रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।


क्लिकमान्डु