उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लाग्यो, सेवा प्रदायक र नियामक छुट्टै हुनुपर्छ: सांसद गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको हवाइ यातायात असुरक्षित देखिनुमा नियामकीय असक्षमता कारण रहेको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद गौतमले नेपालमा भएका ठूला हवाइ दुर्घटनाको विवरण दिँदै विश्वमा सबैभन्दा सुरक्षित ठानिने हवाइ सेवा नेपालमा असुरक्षित भएको बताइन् ।

नेपालमा उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको उनको भनाइ छ । दुर्घटनामा चालक र एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति नपाउने बताइन् ।

‘हवाइ यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ । उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ । यो नियामकिय असक्षमता र टोटल रेगुलेटरी फेलिएर हो’ उनले भनिन्, ‘यात्रा गर्ने यात्रुले राज्य, हामी यात्रा गर्दा सुरक्षित छौँ भन्ने आश्वस्त भएर यात्रा गरेको हुन्छ । चालक या एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन ।’

सांसद गौतमले यदी एयरलाइन्स नै जवाफदेखि हुने भए नियामकको आवश्यकता किन पर्‍यो भन्दै प्रश्न गरिन् । ‘यदी त्यस्तो हुने हो भनेदेखि अन्यत्र पनि जहाज खसेको खसेकै हुन्थे होलान् नि । तर एयरलाइन्स नै जवाफदेहि हुनेभएदेखि यो नियामक निकाय किन चाहिएको ? म मन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु’ बैठकमा उनले भनिन् ।

तर नियामक निकाय ठूलाठूला प्रोजेक्ट बनाउन र ठेक्का लगाउनमा केन्द्रीत भएको उनको आरोप थियो । सांसद गौतमले एउटा पृथक, विशिष्टिकृत र सशक्त नियामक निकाय चाहिएको भन्दै सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै हुनुपर्ने बताइन् ।

‘नियामक निकाय अर्थात नागरिक उड्यन प्राधिकरण ठूल्ठूला प्रोजेक्ट बनाउन, ठूल्ठूला टर्मिनल भवन बनाउन, विमानस्थल सञ्चालन व्यवसाय गर्नमा केन्द्रित भएको देखिन्छ । यही नै हो कन्फ्लिक्ट अफ इन्ट्रेष्ट भनेको,’उनले भनिन्, ‘त्यसलै नेपालमा एउटा पृथक, विशिष्टिकृत र सशक्त नियामक निकाय चाहिएकै छ । रास्वपाले सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै हुनुपर्छ भनेर स्पष्ट माग राख्दै आएको छ ।’


क्लिकमान्डु