आसाम बाढी: बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित



एजेन्सी । भारत आसामको बजाली जिल्लामा बाढीको अवस्था डरलाग्दो बन्दै गएको छ । जिल्लाका १९६ गाउँका करिब  दुई लाख ६१ हजार मानिस बाढीबाट प्रभावित भएका छन् ।

पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उप-डिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अन्यत्र सारेको छ ।

त्यस्तै पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कयौं घर बगाएको छ । प्रभावित स्थानीय सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन् । बाढीले बजालीमा २९७.३० हेक्टर बाली डुबानमा परेको छ ।

आसामको तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्‍याएको छ । त्यस्तै आसामको कोकराझार जिल्लामा बिहीबार मडाती नदीको बाढीले गोसाइगाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा बाधा पुगेको छ ।


क्लिकमान्डु