मोर्गन कलेजमा अध्ययन गरेका विद्यार्थीलाई जापानमा इन्टर्नसिप, मासिक २ लाख कमाउने अवसर



काठमाडौं । मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीले जापानमा इन्टर्नसिप गर्न पाउने भएका छन् ।

काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन गरेका विद्यार्थीलाई जापानका कम्पनीमा इन्टर्नसिपको अवसर दिलाउने सम्बन्धमा कलेज र आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडका बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आइम्याक इन्जिनियरिङ जापानको टोकियोमा रहेको कम्पनी हो ।

असार ५ गते मोर्गन इन्टरनेसनल कलेजमा आयोजित एक कार्यक्रममा क्याम्पस प्र्र्रमुख डा. दीपेन्द्र भण्डारी र आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडका निर्देशक मासाकी ओसास्कीले इन्टर्नसीपसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीको दक्षता अभिवृद्धिमा योगदान पुगोस् भन्ने उद्देश्यले जापानमा इन्टर्नसिपको अवसर मिलाइएको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए ।

त्यसैगरी, जापानमा रहेको युवा जनशक्तिको अभाव परिपूर्ति गर्नमा सहयोगी हुने भएकाले नेपाली विद्यार्थीलाई इन्टर्नसिपको अवसर दिन लागिएको जापानी कम्पनी आइम्याक इन्जिनियरिङका निर्देशक मासाकी ओसास्कीले बताए ।

जापानका कम्पनीहरुलाई विदेशी जनशक्ति नियुक्त गर्न जापानिज भाषा मुख्य अवरोधक रहेको र नेपालबाट इन्टर्नसिपमा लैजाने विद्यार्थीलाई कम्पनीले नै अनलाइन माध्यमबाट जापानिज भाषासहित अन्य क्षमता अभिवृद्धिमा सहयोग गर्ने ओसास्कीले बताए ।

जापानका कम्पनीमा इन्टर्नसिप सकेर नेपाल फर्कने विद्यार्थीले नेपालकोे सूचना प्रविधि, इन्जिनियरिङ र कर्पोरेट सेक्टरमा राम्रो योगदान गर्न सक्ने उनले बताए । मोर्गन कलेजसँगको सम्झौताले जापानमा युवा जनशक्तिको अभाव परिपूर्तिमासमेत सहयोग मिल्ने ओसास्कीको भनाई छ ।

पछिल्ला दिनमा जापानका कम्पनीहरुले युवा जनशक्ति अभावको समस्या झेलिरहेको र यो नेपाली विद्यार्थीका लागि रोजगारीको राम्रो अवसरसमेत भएको उनले बताए । 

सम्झौताअनुसार मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन सकेर इन्टर्नसिपका लागि जापान गएका विद्यार्थीलाई आइम्याक इन्जिनियरिङ कम्पनीले इन द जब टे्रनिङ (ओजेटी)को व्यवस्था मिलाउनेछ । ओजेटीको अधिकतम समय ३ वर्षको हुने सम्झौतामा उल्लेख छ ।

नेपाली विद्यार्थीले ओजेटीको क्रममा पहिलो वर्षमा प्रतिघण्टा १३ सय जापानिज येन पाउनेछन् भने दोस्रो वर्षमा १३ सय ५० र तेस्रो वर्षमा १४ सय जापानी येन पाउने सम्झौतामा उल्लेख छ । विद्यार्थीले एक महिनामा १६० घण्टासम्म काम गर्न पाउनेछन् । सम्झौताअनुसार इन्टर्नसिपमा गएका नेपाली विद्यार्थीलाई पहिलो वर्षमै मासिक २ लाख जापानी येनभन्दा बढी आम्दानीको सुविधा हुने क्याम्पस प्रमुख भण्डारीले बताए ।

मोर्गन इन्टरनेसन कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीले आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडमा इन्टर्नसिपको आवेदन गरेपछि विद्यार्थीले पेस गरेको दस्तावेजको आधारमा विद्यार्थीको छनौट गरिने सम्झौतामा उल्लेख छ ।

त्यसरी छनौट गरिएका विद्यार्थीहरुलाई एक वर्षभित्रमा जापानमा काम गर्न लागि योग्य बनाई प्रमाणपत्र दिएर इन्टर्नसिपमा लैजाने सम्झौतामा उल्लेख रहेको मोर्गन इन्टरनेसनल कलेजले बताएको छ ।

मोर्गन इन्टरनेसनल कलेजमा ब्याचलर इन कम्युटर एप्लिकेसन (बीसीए), ब्याचर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर अफ सिभिल इन्जिनियरिङ, ब्याचलर इन इलेक्ट्रिकल, एमएससी कस्ट्रक्सन म्याजेनमेन्ट र ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) विषयको अध्यापन भइरहेको छ ।

त्यसैगरी, ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस), एमबीएलगायतका विषय मोर्गन इन्टरनेसनल कलेजमा अध्यापन भइरहेको छ ।


क्लिकमान्डु