काठमाडौंमा हिन्दी चलचित्र चलाउन दिन उच्च अदालत पाटनको अन्तरिम आदेश
काठमाडौं । ‘आदिपुरूष’ नेपालमा मात्र नभएर भारतमा समेत नसच्याए पालिकामा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले बिहीबार अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेशमा हिन्दीलगायत कुनै पनि फिल्म रोक नलगाउन र यथास्थितिमा चल्न दिन भनिएको छ ।
अदालतले छलफलका लागि असार १२ गते दुबै पक्षलाई बोलाएको छ । हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार महानगर प्रमुख बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
महानगर प्रमुख शाहले ‘आदिपुरूष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट समेत नहटेसम्म हिन्दी चलचित्र चल्न नदिने बताउँदै सोमबारदेखि प्रदर्शनमा रोक लगाएका थिए । चलचित्र सेन्सर बोर्डले नेपालमा भने यो संवाद हटाइसकेको जानकारी गराएको छ ।