१२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण, २५ वटा नयाँ पार्कको निर्माण: बालेन
काठमाडौं । काठमाडौं नगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो पालिकाभित्र बस्ने मतदाताहरुको हितका लागि काम गरिररहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत बालेनले आफ्नो घोषणा पत्रमा उल्लेख भएअनुसार सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकवत्ति जडान, फुटपाथ निर्माणलगायतमा काम गरेको उल्लेख गर्दै आफूले पालिकाभित्र बस्ने आम मतदाताहरुको हितमा काम गर्दै आइरहेको बताएका हुन् ।
‘हाम्रो घोषणा पत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकवत्ति जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरेका थियौं,’ बालेनले लेखेका छन्, ‘हामी यस पालिकाभित्र बस्ने आम मतदाताहरुको हितमा काम गर्दै आइरहेको यहाँहरुलाई थाहा नै छ । विगत लामो समय देखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहन्थ्यो। त्यस्ता गुनासाहरूलाई हामीले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छौ। जस अनुरूप हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ। यो कार्य निरन्तर चलिरहने छ। ’
सँगै उनले घोषणा पत्रमा भएको शारिरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रुपमा स्थिरता कायम राख्ने पार्कहरुको निर्माण गर्ने बाचाअनुसार नयाँ २५ वटा पार्क निर्माण भएको पनि बताएका छन् । महानगरभित्र १७ सय वटा स्मार्ट सडकवत्ति जडान, ४२ किमि सडक कालोपत्रे, ७ किमि नयाँ ढल निर्माण, १५ सय मिटर फुटपाथ निर्माणलगायतका कार्यहरु भएको पनि उनले बताएका छन् ।
‘घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख गरेका थियौ। सोही अनुरूप २५ वटा नयाँ पार्कको निर्माण भएका छन्।’, उनले लेखेका छन्, ‘सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको छ। यस्तै ४२ किमी सडक कालोपत्रे, ७ कि।मी। नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण भएका छन्। सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको छ। पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको छ।’