देशमा अहिले भ्यूटावर र सिटी हलको आवश्यक्ता छैनः ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भए पनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए ।
गरिव आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि उनले सरकारलाई सचेत गराए । गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाई थियो ।
‘हामीले बजेटमा उल्लेख गरेका छौं–अति विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत नागरिकहरुलाई आवास दिने बजेटमा हामीले जुन कुरा उल्लेख गरेका छौं । कमसेकम हाम्रो मन्त्रीज्यूको कार्यकालमा देखिने हिसावले यो क्षेत्रमा विकास होस भन्ने म चाहन्छु । अहिले हामीलाई ठूल्ठूला सहरको भन्दा गाउँलाई सहर बनाउने होइन । गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि यो मन्त्रालयको ध्यान जान जरुरी छ’ उनले भने ।