बजेट पुस्तिकामा भएका त्रुटी तत्काल सच्याउन सरकारलाई सभामुखको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।

मंगलबार १५ मिनेट स्थगित भई बसेको प्रतिनिधिसभा बैठकमा उनले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटी भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन् ।

यसअघि बसेको बैठकमा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशको नाम नराखि प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए ।

सभामुख घिमिरेले भने , ‘हामी विनियोजन विधेयक अन्तरगत विभिन्न मन्त्रालयगत छलफलमा छौं । सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरु खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यस अघि निर्देशन भईसकेको छ । साथै त्यस्ता कुनै त्रुटीहरु भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु । त्यसैगरी सभाको आजको कार्यसूचिमा रहेको सहरी विकास मन्त्रालय अन्तरगत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमहरुको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरुले प्रश्न उठाईसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिवद्धता समेत व्यक्त गरिसक्नु भएकाले अंकको सट्टा प्रदेशको नाम राखि आवश्यकक्ता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।’


क्लिकमान्डु