नेपाली भूमि समेटिएको नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दूतावासलाई निर्देशन
काठमाडौं । परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले दिएका हुन् ।
उनले भारतले बनाएको नयाँ संसद भवनभित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताए ।
उनले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताए ।
मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन बुझाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पारे।
उनले अखण्ड भारतको नक्सा भन्दा पनि चित्र भएको बताए। उनले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चार माध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारीक जानकारी नआई बोल्न नमिल्ने भएकाले जानकारीमा नभएको बताएको स्पष्ट पारे ।
उनले दुई देशको संवेदनशिल विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने बताए ।
‘सरकार नेपालको नक्साको बारेमा स्पष्ट छ । नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा नै दोस्रो पटक संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारीमा छ । हामीले हमेसा विवाद बनाइराख्नु र नेपालको अफिसियल पोजिसन भएका मान्छेलाई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन’ उनले भने, ‘ संविधान संशोधन गरेर संसदले पास गरेको छ । संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएकोले सरकार र जनताको प्रतिवद्धता स्पष्ट छ । नवनिर्मित भारतीय संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा म्युरलमा समराट अशोकको समयमा फैलावट जनाईको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको समितिलाई जानकारी गराउँछु ।’
नेपाल सरकारले भारतको नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट जानकारी गराउन चाहेको उनले बताए ।