समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोडः विप्लव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका हुन् ।

सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको उनले बताए ।

देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको उनले बताए । नेपाल अग्रगमन र पश्चगमनबीचको लडाँइमा उभिएको भन्दै उनले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गरे ।

महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताए ।

‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनै पनि मूल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन । कुनै पनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनै पनि स्थितिमा स्वीकार गर्न सकिँदैन । नेपालको स्वाधिनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडी ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल’ उनले भने ।

आगामी दिनमा मोर्चाले देशलाई आशा जघाउने काम गर्ने बताए । मोर्चाले शहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने बताए ।


क्लिकमान्डु