आन्तरिक उत्पादन प्रवर्धनका लागि आलु प्याजमा भ्याट: अर्थमन्त्री



विराटनगर । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन् ।

मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भने, ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन ।’

‘अर्थतन्त्रको जीवनमा विराटनगर माथि थियो, अहिले तल झरेको छ । मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रुपमा विकासित हुन्छ’ महतले भने, ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवद्र्धनका लागि नेपाल सरकार सम्पूर्ण रुपले साथमा रहन्छ ।’

अर्थतन्त्रमा समस्याहरु रहेको र अहिले पूँजीगत खर्च कम भइरहेको उनले बताए ।

सामाजिक सुरक्षा र दायित्व बढी भएका कारण साधारण खर्च घटाउन नसकिएको उनले बताए ।

‘विभिन्न किसिमका सौलियत, भत्ता हामीले प्रतिस्पर्धा गरेर नै दिऔं । हाम्रो अर्थतन्त्रले कति धान्न त्यतातिर ध्यान दिएनौं, तर हामीले दिने प्रतिबद्धता गरें, त्यो प्रतिबद्धताबाट पछाडि हट्ने अवस्था रहेन । त्यसैले साधारण खर्च घटाउन सक्ने अवस्थामा हामी थिएनौं, तर प्रशासनिक खर्च हामीले कम गर्ने कोसिस गरेका छौं’ उनले भने ।

ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्च कम हुन पुगेको उनले बताए ।

‘भूकम्पका बेला लिएको ऋण अब तिर्ने बेला भयो । जसले गर्दा साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आयो, मन्त्री डा. महतले भने, ‘जसले गर्दा हामीले पूँजीगत खर्चका लागि १७ प्रतिशत मात्र बजेट विनियोजन गर्न सक्यौं ।’

वास्तविक पूँजीगत खर्च २७ प्रतिशत रहेको र साधारण खर्चकै शीर्षकमा प्रदेश र स्थानीय तहलाई दिने, स्वास्थ्य र शिक्षाको शीर्षकमा पनि पूँजीगत खर्चबाटै गरिने उनले बताए । यो जोड्दा २७ प्रतिशत पूँजीगत खर्च पुग्ने उनले बताए ।

‘पूँजीगत खर्चमा सुधार गर्नु पर्दैन भन्ने मेरो मान्यता होइन । पूँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता छ । विनियोजित पूँजीगत खर्चलाई प्रभावकारितालाई बढाउन जरुरी छ । मलाई विश्वास छ, आउँदो वर्ष हामी पूँजीगत खर्च बढी गर्न सक्छौं, यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । अर्थतन्त्र चलायमान भयो भने राजस्व वृद्धिमा सहयोग पुग्छ’ उनले भने ।


क्लिकमान्डु