बालेनको चेतावनीपछि निर्माताले ‘आदिपुरुष’बाट हटाए ‘सीता भारतकी छोरी हुन्’ भन्ने वाक्यांश



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को चेतावनीपछि दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’बाट ‘सीता भारतकी छोरी हुन्’ भन्ने वाक्यांश हटाइएको छ ।

गल्ती नसुधारेसम्म काठमाडौंमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी प्रमुख शाहले दिएपछि ‘आदिपुरुष’बाट उक्त वाक्यांश हटाइएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले दाबी गरेको छ ।

यद्दपी संवाद हटाइएको विषयमा फिल्मका निर्माताले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भने गरेका छैनन् । वाक्यांक हटाइएकाे भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरे पनि त्यसकाे स्रोत भने खुलाएका छैनन् ।

आज (जुन १६) देखि भारतका विभिन्न सहर र नेपालमा पनि रिलिजको तयारीमा रहेको चलचित्रमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने वाक्यांश उल्लेख गरेको पाइएपछि महानगर प्रमुख बालेनले ‘आदिपुरुष’ नसच्याए काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका थिए ।

चलचित्रबाट सो वाक्यांश हटाउन उनले ३ दिनको समय नै दिएका थिए । बालेनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’ लेखेका थिए ।

नेपाली सेन्सर बोर्डले पनि ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय बोर्डले गरेको थियो ।

यो संवादलाई लिएर सामाजिक सञ्जालमा पनि भारतीय चलचित्र निर्माता को व्यापक विरोध भएको थियो ।

यद्यपि, ‘सीता भारतीय पुत्री’ डाइलगका कारण चलचित्र विवादमा परेपछि काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शनमा रोक लगाएका छन् ।

नेपालको सेन्सर बोर्डले विवादित वाक्य हटाउँदै फिल्म प्रदर्शनको अनुमति दिए पनि हलहरुले नेपालमा मात्र नभई भारतमा पनि नहटाए भारतीय फिल्मलाई काठमाडौं महानगरमा चल्न नदिने बताएपछि उनीहरुले फिल्म चलाउने आँट गर्न नसकेका हुन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले शुक्रबारको बिहानी सो स्थगित गरेका छन् ।

फिल्म हलहरुको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै काठमाडौं उपत्यकाभित्रका सबै हलमा उक्त फिल्मको बिहानी सो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ ।


क्लिकमान्डु