बालेनको चुनौतीपछि आज ‘आदिपुरुष’ को शो रोकियो, १५ लाखको काटिएको थियो अग्रिम टिकट



काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश गरिएको ‘सीता भारतीय पुत्री’ डाइलगका कारण विवादमा परेपछि काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोक लगाएका हुन् ।

नेपालको सेन्सर बोर्डले विवादित वाक्य हटाउँदै फिल्म प्रदर्शनको अनुमति दिएको भए पनि हलहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिजो सामाजिक सञ्जालबाट आदिपुरुषमा समावेश भएको सीता भारतीय पुत्री भएको डाइलग नेपालमा मात्र नभइ भारतमा पनि नहटाए भारतीय फिल्मलाई काठमाडौं उपत्यकामा चल्न नदिने भनेर तीन दिनको समय दिएसँगै हलवालाहरुले फिल्म चलाउने आट गर्न नसकेका हुन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

फिल्म हलहरुको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै काठमाडौं उपत्यकाभित्रका सबै हलमा उक्त फिल्मको विहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ । तर, भारतीय फिल्मका विषयमा यसअघि पनि नेपालमा घटना भइसकेको भएकाले हलहरुले आदिपुरुष चलाउने आट नगरेका हुन् ।

आदिपुरुषका लागि बिहीबार रातिसम्म १५ लाख रुपैयाँ बराबरको अग्रिम टिकट बुकिङ भइसकेकोले त्यसलाई के गर्ने भन्ने अन्योल हलहरुमा देखिएको छ ।

यसैबीच चलचित्र संघले आकस्मिक बैठक बोलाएको छ । मेयर बालेनको अभिव्यक्तिपछि उत्पन्न परिस्थिती बारे छलफल गर्न संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको हो भने आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

बालेनले सामाजिक सञ्जालबाट बिरोध जनाएसँगै सामाजिक सञ्जालमा अहिले विभिन्न दल निकटका भ्रातृ संगठनका नेताहरु र सर्वसाधारणले आदिपुरुषको बिरोध गरिरहेका छन् ।


क्लिकमान्डु