फलामको आयु हुँदैन, २० बर्से नीति ठिक छैन: यातायात व्यवसायी



काठमाडौं । यातायात व्यवसायी र विभिन्न मजदुर संघ संगठनले यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । बागमती सरकारले २० वर्षभन्दा पुराना सवारी साधनलाई कवाडमा लैजाले निर्णय लिएपछि यातायात व्यवसायीले सरकारी नीतिविरुद्ध मजदुर अघि सारेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभिन्न संघ संगठनले आज एक विज्ञप्ति जारी गरी बागमती प्रदेशले बीस वर्षे सार्वजनिक सवारीसाधन पत्रु गर्नेसम्बन्धी सूचना प्रकाशन गरेको भन्दै यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका हुन् ।

महासंघका महासचिव डेकनाथ गौतमले प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी यही जेठ ७ गते २० वर्षे सवारीसाधन हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय अव्यावहारिक भएको बताए । ‘सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न ठीक सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्छ, फलामको कुनै आयु हुँदैन, सञ्चालन गर्न ठीक नभएका सवारीसाधनलाई मात्र हटाउनुपर्छ,’ उनले भने ।

व्यवसायी र संघ संगठनले एकैपटक २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउँदा राज्यको ठूलो रकमसमेत नयाँ गाडी खरिदका लागि विदेश जाने बताएका छन् । पत्रु नै गर्ने हो भने ‘ब्लु बुक’का आधारमा अर्को सवारीसाधन ल्याउने विकल्प दिँदै सरकारका तर्फबाट सहुलियत र सहयोग हुनुपर्ने बताइएको छ ।

यस्तै, सवारीसाधनको अवस्था अध्ययन गरी उपयुक्त सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने व्यवस्था गर्नुपर्ने बताइएको हो ।

विज्ञप्तिमा नेपाली कांग्रेसनिकट नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीले हस्ताक्षर गरेका छन् । उनीहरुले प्रदेश सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको सम्बन्धमा गरेको निर्णय तत्काल सच्याउनसमेत माग गरेका छन् ।


क्लिकमान्डु