वीरगन्ज महानगरपालिकाद्वारा ३६ करोड राजस्व संकलन



पर्साको वीरगन्ज महानगपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा ३६ करोड ६१ राजस्व संकलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले साउनदेखि वैशाखसम्ममा २६ शीर्षकमा राजस्व संकलन गरेको हो ।

महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट १४ करोड एक लाख रुपैयाँ, घरबहाल करबाट पाँच करोड ५७ लाख रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट दुई करोड २१ लाख रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट दुई करोड ७१ लाख रुपैयाँ, अन्य सेवा शुल्कबाट दुई करोड दुई लाख रुपैयाँ तथा अखेटोपहारमा लाग्ने करबाट दुई करोड ३६ लाख रुपैयाँ संकलन भएको छ ।

यस्तै नक्सा पास दस्तुरबाट दुई करोड ९० लाख रुपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ४३ लाख रुपैयाँ, भूमिकरबाट ७७ लाख रुपैयाँ, साना सवारी साधनको करबाट २४ लाख रुपैयाँ, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट ५३ लाख रुपैयाँ, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट ६६ लाख रुपैयाँ, परीक्षा शुल्कबाट ११ लाख रुपैयाँ, बहाल बिटौरी करबाट सात लाख रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख रुपैयाँ राजस्व संकलन भएको कर्णले बताए ।

त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३१ लाख रुपैयाँ, व्यक्तिगत घटना दत्र्ताबाट २६ लाख रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट १२ लाख रुपैयाँ, र पार्किङ शुल्कबाट दुई लाख रुपैयाँ राजस्व संकलन भएको छ । आव २०७८/७९ को १० महिनाको अवधिमा महानगरपालिकाले विभिन्न शीर्षकमा ५२ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आव २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेशन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा चालु आव २०७९/८० देखि राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व संकलन हुन थालेको छ ।

घरजग्गा रजिष्ट्रेशन शीर्षकमा अघिल्लो आवमा महानगरपालिकाले ४७ करोड रुपैयाँ राजस्व संकलन गरेकामा चालु आवमा २० करोड रुपैयाँसम्म पनि संकलन हुन नसक्ने अवस्था रहेको कर्ण बताउँछन् ।

चालु आवमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेकालगायत कारणले अघिल्लो आवको तुलनामा चालु आवमा राजस्व संकलन घटेको उनले बताए ।


क्लिकमान्डु