तनहुँमा १२ वटा सिँचाइ योजना धमाधम निर्माण



तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले १२ वटा योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माण अघि बढाएको छ । ती योजना निर्माण गर्न २८ करोड ५९ लाख रुपैयाँको सम्झौता भएको छ ।

आयोजनाका लागि चालू आर्थिक वर्षमा ६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

उनका अनुसार दुई ठूला आयोजनामा संघ विशेष अनुदानमा मादी नदी नियन्त्रण र गण्डकी प्रदेशको बजेटमा मादी नदी नियन्त्रण कार्यक्रम छ । संघ सरकारबाट मादी नदी नियन्त्रणमा १७ करोड ९८ लाख र गण्डकी प्रदेशबाट दुई करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ ।

चालू आवमा क्रमशः चार करोड ५० लाख र २० लाख बजेट विनियोजन भएको छ । ती आयोजनाको क्रमशः २०७९ फागुन ९ र २०७९ जेठ ६ गते सम्झौता भई २०८१ भदौ ८ र २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

त्यसैगरी डुम्रेबेँसी सिँचाइ योजनामा तीन करोड ८१ लाख, पहाड खोला बस्ती संरक्षणका लागि एक करोड ८५ लाख, छाब्दीफाँट सिँचाइ योजनामा ७३ लाख, सेराफाँट सिँचाइ योजनामा ६३ लाख, कोल्पाटा लिफ्ट सिँचाइ योजानमा ५२ लाख र तालेफाँट सिँचाइ योजनामा ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु गरिएको छ ।

त्यसैगरी अर्चले गाउँ र बिलौनी गाउँ पहिरो नियन्त्रण, मादीखोला ठूलो कुलो सिँचाइ र साँघेखोला डुम्रे सुपरी तटबन्धन कार्यका लागि चालू आवमा १० लाख रुपैयाँका दरले बजेट विनियोजन गरी निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए । उक्त योजना २०७७ साउन २८ गते ठेक्का सम्झौता भई २०८१ भदौ ८ सम्म सम्पन्न गर्ने योजना छ । (रासस)


क्लिकमान्डु