हरिवनमा टेलिमेडिसिन सेवा सुरू
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरेको छ ।
टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले हरिवन-४ निवासी कान्छीमायासँगको भिडियो संवादमार्फत गरेका छन् ।
नगरपालिकाको विशेषज्ञ सेवाअन्तर्गत डा. नरेन्द्र मैनालीद्वारा प्रत्येक महिना १ सयभन्दा बढी बिरामी जाँच गर्दै आएका छन् ।
यो कार्यक्रम तेस्रो महिनासम्म आइपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्यसम्बन्धी जाँच तथा निःशुल्क औषधी वितरण हुँदै आएको छ । साथै बालबालिकाको मानसिक रोगसम्बन्धी तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भइसकेको छ ।
हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षक-शिक्षिकालाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । १६४ जना मानसिक रोगीको स्वास्थ्य जाँच गरी १०-१२ जना गम्भीर प्रकृतिका मानसिक रोगीको पहिचान गरी थप उपचारका लागि सिफारिस गरिएको छ ।