ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको सेबोनको ठहर, जिल्ला अदालतमा मुद्दा दायर



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको ठहर गरेको छ ।

प्रधानले कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको सेबोनको निष्कर्ष छ । २०७८ फागुन २५ गते प्रधानले गैरकानुनी रुपमा सेयर काराेबार गरेको समाचार क्लिकमान्डुले समाचार प्रकाशित गरेको थियो ।

आफैं अध्यक्ष भएर सेयर बिक्री गर्नु धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसार जालसाजीयुक्त कारोबार भएको सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।

‘प्रधानले सेयर बिक्री गरेको समयमा कम्पनीको कुनै लाभांश घोषणा गर्नुका साथै कम्पनीको वित्तीय अवस्थामा हेरफेर भएको भए यस्तो कारोबारलाई ऐनको दफा १०१ को ३ अनुसार भित्री कारोबार मानिन्थ्यो,’ प्रवक्ता श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘ज्ञानेन्द्रलाल प्रधानले नियम मिचेको आफन्तको नाममा सेयर नामसारी गरे पनि सेयर खरिद गरेको नपाइएकाले भित्री कारोबार पुष्टि गर्न सकिएन ।’

प्रधानको सेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ उपनियम (१क) विपरीत भएको भन्दै सेबोनले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रधानले अध्यक्ष पदबाट हटेको एक वर्ष पूरा नभएसम्म नियमविपरीत श्रीमतीलाई घरायसी नामसारी गराई सो सेयर दोस्रो बजारमा श्रीमतीको माध्यमबाट बिक्री गरेको भन्दै सेबोनले १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्ष कैद वा दुबै सजाय गर्न माग गरेको छ ।

प्रधानले धितोपत्रलगायतका कानुनमा रहेका छिद्र प्रयोग गरी श्रीमती, छोरा र छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको अवस्था देखिँदा संस्थागत गतिविधिभन्दा पनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिन आउँदा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९८ को बजारमा जालसाजीयुक्त कारोबार गरेको देखिएको सेबोनको ठहर छ ।


सोभित थपलिया