डोको बुनेरै बित्यो ५० वर्ष



म्याग्दी । म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर (माइला) सार्की एकापसमा परिचित छैनन् तर उनीहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गरेका छन् ।

उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थालेका मालिकाका विक अहिले ७१ वर्षमा लाग्दासमेत चोयासँगको साथ छुटेको छैन । उनको जस्तै अवस्था छ, बेनीका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको-डालो बुनेरै उनीहरूले जीवन गुजारिरहेका छन् ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयासँग खेलेरै उनीहरूको समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ्यौलीले कुप्रिएको छ । कान कम सुने पनि २० वर्षे लक्का जवानको जस्तै फुर्तिलो ढंगले काम गरेको देख्दा उनलाई बुढ्यौलीले छोएको महसुस नहुने नाति शकबहादुर विक बताउँछन् ।

वनमा निगालो खोजेर चोया निकाल्दै जवानीका रमाइला दिन बिताइसकेका विकले डोका बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आएका छन् । ‘छोराहरू विदेशमा छन्, अहिले दुःख गर्नुपर्ने कुनै बाध्यता त छैन तर त्यसै बस्न मनै लाग्दैन,’ उनले भने ।

उनी दिनमा दुई वटासम्म डोका बुन्छन् । एउटा डोकाको तीन सय ५० देखि ६ सयसम्ममा बिक्री हुन्छ । आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर बिक्री गर्दै आएको र यसबाट मासिक १५ हजारदेखि २२ हजारसम्म आम्दानी हुने विकको भनाइ थियो ।

उनीजस्तै ज्यामरुक कोटका माइलाले पनि डोको बुनेर मासिक २० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । त्यसैबाट आफ्ना ६ जना परिवारको पालनपोषण, शिक्षादीक्षा र औषधोपचार गर्दै आएका छन् । 

बुढ्यौलीले छोए पनि डोको बुन्न माइलाको जोश र जाँगर जवानी अवस्थाको जस्तै छ । बिहानदेखि रात नपरुन्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तै हुँदैन । ‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर हिसाब गर्दा ७० पो काट्न लागेछु,’ माइलाले भने ।

माइलाको वास्तविक नाम गजबहादुर हो तर उनलाई सबैले माइला नै भन्ने गर्छन् । उनको हातको सीप नै घरमै बसिबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ ।

अतिविपन्न माइलाको परिवारको जीविका यसैबाट चलेको छ । पहिले-पहिले डोको, थुन्से र भकारी बुनेर घर-घरमा बिक्रीका लागि पुग्ने गरेकामा अहिले घरमै ग्राहक आउने गरेका छन् ।

माइलाले आफ्नै कमाइबाट छोराछोरीलाई पढाउनुका साथै विवाहसमेत गराइसकेका छन् । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा उनले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गरेका छन् ।

दिनमा तीन वटादेखि पाँच वटासम्म डोको बुन्न सकिने र यसबाट मासिक २० हजार जति आम्दानी हुने माइलाले बताए । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइला सार्कीले प्रस्तुत गरेको स्थानीय समाजसेवी झकबहादुर थापाले बताए ।

‘डोकोको माग अत्यधिक हुने गरेकाले पुर्‍याउन मुस्किल परेको छ । पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पुर्‍याउने ?’ माइलाले भने, ‘मैले बुनेको डोको बलियो र धेरै समयसम्म टिक्ने भएकाले टाढा-टाढाबाट ग्राहक आउने गरेका छन् ।’

विक र सार्की मात्रै होइन, ५०औँ वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्ति अहिले पनि डोको, भकारी, नाम्लोजस्ता सामग्री बनाउने गर्छन् । कृषि पेसाप्रति घट्दो आकर्षण र आयातित सामग्रीको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिको रैथाने सीपले भने बजार पाउन हम्मेहम्मे पर्ने गरेको उनीहरुको गुनासो छ । (रासस)


क्लिकमान्डु