स्थानीय सेवा र उत्पादनको प्रवर्धनमा सहयोग गर्न आग्रह



पाल्पा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्धनका लागि लगानीकर्ता तयार रहेकाले सहजीकरण गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

पाल्पाको तानसेनमा जारी पाल्पा महोत्सवको समापन समारोहमा अध्यक्ष ढकालले स्थानीय सेवा तथा उत्पादनका क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारबाट नीतिगत सहजीकरण हुनुपर्ने बताए ।

पाल्पाको वसन्तपुरमा केबलकारसहितको रिसोर्ट केही हप्तामै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी गराए । अन्य पर्यटकीय पूर्वाधारमा समेत लगानीका आफू इच्छुक रहेको उनको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघले पाँचवटा प्राथमिकता अघि सारेको उल्लेख गर्दै यसबाट अर्थतन्त्रको विकास तथा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन सहयोग पुग्ने पनि बताए । पहिलो अर्थतन्त्रमा देखिएको संकट समाधानको रणनीति बनाउन नेपाल सरकार, राष्ट्र बैंक तथा अन्य नियामक निकायसँग महासंघले नजिकबाट सहकार्य गरिरहेको उनको भनाइ छ ।

त्यस्तै आन्तरिक वा विदेशी लगानी प्रवर्धनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा पनि अध्यक्ष ढकालले जोड दिए । सरकार र निजी क्षेत्रले एक-अर्कालाई आक्षेप लगाउनेभन्दा पनि लगानीको वातावरण बनाउन र एक-अर्कामा विश्वासको वातावरण बनाएर साझेदारी गर्ने कुरालाई महासंघले  प्राथमिकतामा राखेको अध्यक्ष ढकालले बताए ।

दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ उठाएको उनले जानकारी गराए । हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने ५ लाखभन्दा बढी युवालाई आन्तरिक र बाह्य रोजगारीमा जानुअघि दक्ष बनाउन जरुरी रहेको उनको धारणा छ ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउने विषयलाई पनि महासंघले महत्वका साथ उठाएको बताए । ‘अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउने गरी प्रोटोकल निर्धारणमा सरकारको सहयोग हुनेमा विश्वस्त छु,’ उनले भने ।


क्लिकमान्डु