जीवन बिमा कम्पनीको नयाँ व्यवसाय ८ अर्बले घट्यो, नवीकरणले ओगट्यो ८०% हिस्सा



काठमाडौं । जीवन बिमा कम्पनीहरुको प्रथम बिमाशुल्क(नयाँ व्यवसाय)घटेको छ । जीवन बिमा कम्पनीहरुले पोलिसी बिक्री गरेको सुरुवातको किस्तावापत प्राप्त हुने रकम प्रथम बिमाशुल्क हो । अर्थात नयाँ बिमितहरुबाट संकलन भएको बिमाशुल्क प्रथम बिमाशुल्क हो ।

सञ्चालनमा रहेका १८ वटा जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा २१ अर्ब ५२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । कुल जीवन बिमा व्यवसायमा प्रथम बिमाशुल्कको हिस्सा २०.०६ प्रतिशत हुन आउँछ । गत आवको सोही अवधिको तुलनामा २७.५९ प्रतिशतले अर्थात ८ अर्ब ५४ लाख रुपैयाँले कम हो । गत आवको चैत महिनासम्ममा कम्पनीहरुले २९ अर्ब १ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए ।

जीवन बिमा कम्पनीहरुमध्ये प्रथम बिमाशुल्कवापत नेपाल लाइफले धेरै रकम संकलन गरेको छ । इन्स्योरेन्सले यस अवधिमा ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ । सबैभन्दा थोरै महालक्ष्मी लाइफले ३३ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ ।

नेपाल लाइफ पछि प्रथम बिमाशुल्क संकलन गर्ने दोस्रो जीवन बिमा कम्पनीमा नेशनल लाइफ परेको छ । नेशनलले ९ महिनाको अवधिमा २ अर्ब ६२ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, एलआइसीले प्रथम बिमाशुल्कवापत १ अर्ब ६५ करोड २५ लाख, सूर्यज्योति लाइफले १ अर्ब ८ करोड ३७ लाख, सन नेपाल लाइफले १ अर्ब ३१ करोड ७३ लाख, एशियन लाइफले १ अर्ब ४ करोड ९० लाख, र सिटिजन लाइफले १ अर्ब ३ करोड ६ लाख र र सानिमा रिलायन्सले १ अर्ब ११ करोड ५८ लाख रुपैयाँ संकलन गरेका छन् ।

यस अवधिमा आइएमई लाइफले ९५ करोड ९८ लाख, मेट लाइफले ९० करोड, राष्ट्रिय बीमा संस्थानले ४७ करोड ७ लाख, यूनियन लाइफले ९१ करोड ५६ लाख, प्रभु लाइफले ४६ करोड ४७ लाख रुपैयाँ संकलन गरेका छन् ।

सबै कम्पनीको प्रथम बिमाशुल्क घट्यो

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा जीवन बिमा व्यवसाय गर्दैै आएका १८ वटै जीवन बिमा कम्पनीहरुको प्रथम बिमाशुल्क घटेको छ । १८ मध्ये सबैभन्दा धेरै प्रथम बीमाशुल्क गुराँस लाइफको घटेको छ ।

गत आवको फागुन महिनासम्मको तुलनामा इन्स्योरेन्सको प्रथम बिमाशुल्क संकलन ४६.०६ प्रतिशत घटेर २७ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ५० करोड २६ लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेको थियो । यस्तै, सबैभन्दा थोरै आइएमई लाइफको २.१४ प्रतिशतले घटेको छ ।

राष्ट्रिय बीमा संस्थानको नयाँ व्यवसाय ३७ प्रतिशतले घटेर ४७ करोड ७ लाख रुपैयाँ प्राइम लाइफको ३९.२५ प्रतिशतले घटेर ५९ करोड ४ लाख रुपैयाँ र सानिमा रिलायन्सको ३५.६४ प्रतिशतले घटेर १ अर्ब ११ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै, नेशनल लाइफको प्रथम बिमाशुल्क १८.४८ प्रतिशत, नेपाल लाइफको १६.०७ प्रतिशत, एलआइसी नेपालको १४.८३ प्रतिशत, मेट लाइफको २०.३३ प्रतिशत, एशियन लाइफको ३१.०५ प्रतिशत, यूनियन लाइफको ४७.०१ प्रतिशत, सन नेपाल लाइफको २९.३९ प्रतिशत, सिटिजन लाइफको ३७.१० प्रतिशत, प्रभु लाइफको ३८.७३ प्रतिशत र सूर्यज्योतिको २९.४४ प्रतिशतले घटेको छ ।

व्यवसायलाई नवीकरण बीमाशुल्कको टेवा

कुल जीवन बिमा व्यवसायमा नवीकरणीय बीमाशुल्कको योगदान ७९.९४ प्रतिशत छ । यस अवधिमा कम्पनीहरुले नवीकरणीय बिमाशुल्कवापत ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ संकलन गरेका छन् ।

बिमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बिमाशुल्क नवीकरण बीमाशुल्क हो । बिमा निश्चित समयसम्मका खरिद गरिन्छ । यसरी खरिद गरिएको बिमालेखलाई चलायमान बनाउनका लागि बीमाशुल्क भुक्तानी गर्नुपर्छ । जसले गर्दा नवीकरणीय बिमाशुल्क वर्षेनी बढ्दै जान्छ । वर्षेनी बढ्दै जाने हुँदा जीवन बिमा व्यवसायमा नवीकरणीय बिमाशुल्कको हिस्सा बढी हुन्छ ।


बिजया बास्कोटा