प्रतिकिलो १७ हजार रुपैयाँ पर्ने गुच्ची च्याउ टिप्न भ्याइनभ्याइ



मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्ची च्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छिन् ।

हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्ची च्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्ची च्याउ टिप्न व्यस्त भएकी हुन् । गतवर्ष च्याउ टिपेर २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ ।

ताजागाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्ची च्याउ सङ्कलन गर्ने गरेकी छन् । गतवर्ष च्याउ बेचेर उनले ४० हजार रुपैयाँ कमाएकी थिइन् ।

जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ। जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ ।

विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ ।

“जङ्गलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उनले भनिन् , “च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौं।” च्याउ टिप्न बिहानै वनजङ्गलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो १४ हजारदेखि १७ हजार रुपैयाँसम्म पर्ने स्थानीयवासीको भनाइ छ । केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउकिन्ने गरेका छन् ।

जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जङ्गलमा गुच्चीच्याउ पाइन्छ छ । बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताए ।

उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन् । बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ। निगालो, पीपल, उन्युँ बढी भएको जङ्गलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ।

उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खान्छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँकाजङ्गलमा च्याउ बढी पाइन्छ।

जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगञ्ज, काठमाडौँ र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मेलबहादुर शाहीले बताए ।

उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ सङ्कलन गर्छन्। उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताए ।

सोरु गाउँपालिकाको वन क्षेत्रमा सङ्कलन हुने च्याउ व्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पुर्‍याउने गरेका छन् । गुच्चीच्याउको तरकारी स्वादिलो हुने र औषधि निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ।


क्लिकमान्डु