गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो



गुल्मी । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यो वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको हो ।

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन् ।

डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको छ ।

डढेलोमा परी दुई जनाको ज्यान पनि गएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको हो । वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ ।


क्लिकमान्डु