कोशी प्रदेशको पुनः नामकरण सम्भव छैन: मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनः नामकरण असम्भव रहेको बताएका छन् ।

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाम्प्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएकाले फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामकरण गरिएको हो । अब पुनः प्रदेशको नामकरण सम्भव छैन ।’

पाँच वर्ष प्रदेशको नामकरण हुन नसक्दा जनस्तरबाटै प्रदेश सरकार आलोचित भएको स्मरण गर्दै कार्कीले भने, ‘प्रदेश सरकार निर्माण गर्न समर्थन गरेका सबै राजनीतिक दलको समर्थनमा नामकरण टुंगोमा पुर्‍याइएको हो । केही व्यक्ति र केही संस्थाले एमालेलाई लक्षित गरी आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ । हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट छैन, यसप्रति कोशी प्रदेश सरकार सचेत छ ।’

मन्त्री कार्कीले ‘कोशी प्रदेश’ निश्चित सम्प्रदाय, धर्म, पहिचान र जातिभाषाको रुपमा नभएर नेपालकै सबैभन्दा ठूलो प्राकृतिक सम्पदा कोशी नदीको नाम भएको स्पष्ट पारे । उनले भने, ‘यो प्रदेशको नाम सम्पदाका आधारमा राखिएको हो, अन्य ठाउँमा प्राकृतिक सम्पदा र भूगोलको आधारमा नामकरण हुँदा हुने हाम्रोमा किन नहुने ?’

मन्त्री कार्की सहभागी कार्यक्रममा आन्दोलनरत पहिचानवादीले नाराबाजी गरेका थिए । आन्दोलनरत पक्षधरले कार्कीको विरोध गर्दै पूर्व–पश्चिम राजमार्गको मंगलबारेमा केहीबेर सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरुले सडकमा प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो भएर विराटनगर फर्किएका थिए ।


क्लिकमान्डु