धनकुटाका २५ सय दुग्ध किसानलाई प्रोत्साहन



धनकुटा । धनकुटाका दुई हजार पाँच सय ८३ दुग्ध उत्पादक किसानले प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदानस्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत् दिन लागिएको हो ।

जिल्लाका चार स्थानीय तहका ३७ दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई एक करोड ५० लाख रकम वितरण गरिने पशुसेवा कार्यालय प्रमुख लोकनाथ ढुंगानाले जानकारी दिए । चालू आर्थिक वर्षभर किसानले उत्पादन गरेको दूधको प्रतिलिटर दुई रुपैयाँका दरले प्रोत्साहन रकम दिइने उनले बताए ।

हालसम्म जिल्लाका १७ वटा सहकारीमार्फत् पहिलो चरणको प्रोत्साहन रकम वितरण भइसकेको कार्यालयका अधिकृत छैटा पुष्प दाहालले जानकारी दिए । सबैभन्दा धेरै छथर जोरपाटी गाउँपालिकाअन्तर्गत १९ सहकारीमार्फत एक हजार एक सय ५९ किसानले प्रोत्साहन रकम पाउनेछन् ।

महालक्ष्मी नगरपालिकाअन्तर्गत नौ सहकारीमार्फत पाँच सय ८७ र धनकुटा नगरपालिकाका पाँच सहकारीमार्फत पाँच सय ९८ किसानले रकम पाउनेछन् । त्यस्तै पाख्रिबास नगरपालिकाका चार सहकारी संस्थामार्फत् दुई सय ३९ किसानले प्रोत्साहन रकम पाउने कार्यालयले जनाएको छ ।

यसैक्रममा शुक्रबार धनकुटा नगरपालिका–३ स्थित श्री दुग्ध उत्पादक सहकारीका एक सय ४८ किसानलाई दुई लाख १० हजार सात सय आठ रुपैयाँ रकम प्रदान गरिएको छ । किसानलाई प्रदेशसभा सदस्य निरन राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल र पशुसेवा कार्यालय धनकुटाका प्रमुख ढुंगानाले प्रोत्साहन रकम वितरण गरे ।

गत आर्थिक वर्षमा धनकुटामा ८० करोड २१ लाख ५० हजारबराबरको १६ हजार ४३ टन दूध उत्पादन भएको थियो ।

कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा एक सय २३ गाई फार्म र ६ वटा भैँसी फार्म छन् । जिल्लामा उत्पादित ५० प्रतिशत दूध जिल्लाबाहिर निकासी हुने गरेको छ ।


क्लिकमान्डु