संसदमा प्रधानमन्त्री हराएको सूचना !



नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल संसदबाट हराएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यंग्य गरेका हुन् । उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद भवन नयाँ बानेश्वरमा बुझाउन आग्रह गरे ।

प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नु परेको उनको भनाइ थियो । सांसद पन्तले ने ‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार । हुलिया । पहिलेपहिले कोट पेन्ट लगाउने गरेपनि हाल दोरा, सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिन अघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाई दिनु होला । उहाँ अन्तिम पटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’

सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किनु भएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिम पटक बालुवाटार छेउछाउ देखेको कटाक्ष गरे ।


क्लिकमान्डु