विश्वका सबैभन्दा धनी व्यक्तिहरूमा अमेरिकीको बाहुल्य, १० मध्ये ७ अर्बपति अमेरिकी



एजेन्सी । सन् २०२३ मा विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूची भएको छ । फोर्ब्सले जारी गरेको उक्त सूचीमा विश्वका शीर्ष १० धनी व्यक्तिहरूमध्ये ७ जना अमेरिकी रहेका छन् ।

शीर्ष १० धनीहरूको सूचीमा अमेरिकी मूलका एलन मस्क, जेफ बेजोस, ल्यारी एल्लिसन, वारेन वफेट, बिल गेट्स, माइकल ब्लुमबर्ग र स्टिभ वाल्मर रहेका छन् ।

त्यस्तै, फ्रान्सबाट बर्नार्ड आर्नल्ट, मेक्सिकोबाट कार्लोस स्लिम हेलु र परिवार तथा भारतबाट मुकेश अम्बानी पनि शीर्ष १० मा रहेका छन् ।

हाल विश्वका सबैभन्दा धनी बर्नार्ड आर्नल्ड फ्रान्सका हुन् । उनको कुल सम्पत्ति २११ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । ७४ वर्षका उनी फेसन तथा कस्मेटिक क्षेत्रका ‘बादशाह’ कहलिन्छन् । आर्नल्ड आबद्ध रहेको ‘एलभिएमएच’ अन्तर्गत विश्वभरमै चर्चित ७५ वटा फेसन तथा कस्मेटिक ब्रान्डहरू रहेका छन् ।

त्यस्तै, विश्वकै धनीहरूको सूचीको दोस्रो स्थानमा एलन मस्क रहेका छन् । मस्कको प्रविधि, अन्तरिक्ष, सामाजिक सञ्जाललगायतका विभिन्न क्षेत्रमा लगानी रहेको छ । अन्तरिक्ष सम्बन्धी काम गर्ने स्पेस एक्सदेखि विद्युतीय सवारी निर्माता टेस्ला, सामाजिक सञ्जाल ट्विटर, प्रविधि क्षेत्रमा न्युरोलिंकलगायतका विभिन्न कम्पनीहरू मस्कको स्वामित्वमा रहेको छ ।

५१ वर्षका मस्कसँग हाल १८० बिलियन अमेरिकी डलर सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ ।

त्यस्तै, तेस्रो स्थानमा अमेजोनका मालिक जेफ बेजोस रहेका छन् । ५९ वर्षका अमेरिकी नागरिक बेजोसको हालको सम्पत्ति ११४ बिलियन अमेरिकी डलर रहेको सूचीमा उल्लेख गरिएको छ ।

त्यस्तै, चौथो स्थानमा पनि अमेरिकी नागरिक नै छन् । १०७ बिलियन अमेरिकी डलर सम्पत्तिको स्वामित्वसहित चौथो स्थानमा रहेका ७८ वर्षीय ल्यारी एल्लिसन प्रविधि तथा सफ्टवेयर कम्पनी ओराकलका मालिक पनि हुन् । उक्त कम्पनीमा अध्यक्ष, प्रमुख प्राविधिक अधिकृत र सह संस्थापक रहेका उनले हाल कम्पनीको ३५ प्रतिशत हिस्सा ओगटेका छन् ।

पाचौं नम्बरमा रहेका अमेरिकी नागरिक वारेन बफेटसँग कुल सम्पत्ति १०६ बिलियन अमेरिकी डलरको रहेको फोर्ब्सले जनाएको छ । बफेट लगानी क्षेत्रका ‘बादशाह’ कहलिन्छन् । इतिहासकै सबैभन्दा सफल लगानीकर्तामध्येका वफेट हाल ९२ वर्ष पुगिसकेका छन् । उनी विश्वकै शीर्ष कम्पनीहरूको सेयरमा लगानी गरेरै अर्बपतिहरुको सूचीसम्म आइपुगेका हुन् । हाल उनी ‘ब्रेकसाइर हाथावे’ नामक कम्पनीका सीईओ तथा अध्यक्ष पनि हुन् ।

त्यस्तै, छैटौँ नम्बरमा रहेका बिल गेट्स सफ्टवेयर तथा टेक्नोलोजी क्षेत्रमा चिरपरिचित नाम हो । ६७ वर्षका उनी हाल १०४ बिलियन अमेरिकी डलर सम्पत्तिको मालिक हुन् । माइक्रोसफ्टका मालिक रहेका उनी हाल शून्य कार्बन ऊर्जा क्षेत्रमा लगानी गर्ने अर्बपतिहरु मध्येमा पर्छन् ।

त्यस्तै, सातौँ नम्बरमा पनि अमेरिकी नागरिक नै रहेका छन् । ९४.५ बिलियन अमेरिकी डलरको स्वामित्वसहित माइकल ब्लुमबर्ग यो स्थानमा छन् । ८१ वर्षीय माइकल सञ्चार क्षेत्रमा लगानी गर्ने व्यक्ति हुन् । उनले सन् १९८१ मै आर्थिक जानकारी दिने तथा सञ्चारमाध्यम समेत रहने कम्पनी ब्लुमबर्गको सहस्थापना गरेका थिए ।

औठौ स्थानमा भने मेक्सिकोका व्यापारी कालोर्स स्लिम हेलु र उनको परिवार रहेको छ । ८३ वर्षका हेलु मेक्सिकोकै सबैभन्दा धनी व्यक्तिमा पर्छन् । उनी र उनको परिवारसँग ९३ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । ८३ वर्षका हेलु र उनको परिवारको स्वामित्वमा ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो मोबाइल टेलिकम फर्म ‘अमेरिका मोभिल’को स्वामित्व रहेको छ ।

शीर्ष १० अर्बपतिहरुको सूचीमा रहेका एक मात्र एसियाली मूलका व्यक्ति मुकेश अम्बानी हुन् । भारतीय उद्योगी व्यापारी अम्बानीको कुल सम्पत्ति ८३.४ बिलियन अमेरिकी डलर रहेको छ । ६५ वर्षीय अम्बानी रिलाइन्स ग्रुपका मालिक हुन् । उनको कम्पनीले पेट्रोलियम पदार्थ, पेट्रोकेमिकल र ग्यास, टेलिकम र खुद्रालगायतका विभिन्न क्षेत्रमा लगानी गरेका छ ।

शीर्ष १० अर्बपतिहरुको सूचीमा १० औँ स्थानमा अमेरिकी मूलकै व्यक्ति छन् । ६७ वर्षीय अमेरिकी मूलका स्टिभ वाल्मर ८०.७ बिलियन अमेरिकी डलरको स्वामित्वसहित १० औँ स्थानमा छन् । वाल्मर सन् २००० देखि सन् २०१४ सम्म माइक्रोसफ्टको सीईओको रूपमा रहेका थिए । हाल उनको स्वामित्वमा अमेरिकी बास्केटबल टिम ‘लस एन्जलस क्लिपर्स’ रहेको छ ।


क्लिकमान्डु