गत वर्षभन्दा करिब ४० अर्बले बढ्यो विनोद चौधरीको सम्पत्ति, विश्वका १६४७ औं धनी



काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।
यससँगै प्रतिनिधि सभासदस्य समेत रहेका चौधरी विश्वका १६४७ औं धनी बनेका छन् ।

अर्बपतिहरुको सम्पत्तिबारेको सूची सार्वजनिक गर्दै आएको फोर्ब्सका अनुसार गत वर्ष विश्वकै धनीहरुको सूचीमा १९ सय २९ औं स्थानमा रहेका चौधरी यसवर्ष २८२ स्थान माथि उक्लिएका हुन् ।

फोर्ब्सका अनुसार गत वर्षको तुलनामा चौधरीको सम्पत्ति ३० करोड अमेरिकी डलर (३९ अर्ब ३७ करोड १७ लाख ६० हजार नेपाली रुपैयाँ)ले वृद्धि भएको छ । गत वर्ष कुल सम्पत्ति १.५ अर्ब डलर रहेका चौधरीको हालको सम्पत्ति १.८ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।

चौधरी सिजि ग्रुप ग्लोबल, नबिल बैंक, सिजि फुड्सलगायतका विभिन्न कम्पनीसँग आवद्ध रहेका छन् । नेपालसँगै भारत, सर्विया, बंगलादेश, पाकिस्तानलगायतका विभिन्न देशमा पनि उनको व्यवसाय फैलिएको छ । त्यस्तै, सिजि ग्रुपअन्तर्गतबाट १४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटलहरुको चेनसमेत रहेको छ ।

हाल विश्वकै सबैभन्दा धनी व्यक्ति बर्नार्ड आर्नल्ट रहेका छन् । उनी लुई भिटन तथा सेफोराजस्ता चर्चित फेसन तथा कस्मेटिक ब्राण्डका मालिक हुन् । उनी आवद्ध ‘एलभिएमएच’ ग्रुपअन्तर्गत विश्व चर्चित ७५ वडा लक्जरी फेसन तथा कस्मेटिक ब्राण्डहरु रहेका छन् । फोर्ब्सका अनुसार हाल उनको सम्मत्ति २ सय ११ बिलियन अमेरिकी डलर रहेको छ ।


क्लिकमान्डु