जोत्स्नाको धोकापछि महासंघको राजनीति: ‘बिजनेश पार्टनर’ प्रबल र भरत एकै पदमा भिड्ने
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा उथलपुथल भएको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको टिमबाट एशोसिएट उपाध्यक्ष उठ्ने घोषणा गरेकी जोत्स्ना श्रेष्ठले एकाएक टिम परिवर्तन गरेपछि महासंघको चुनावी समीकरण एक्कासी बदलिएको हो ।
महासंघको राजनीतिका खेलाडी बन्न खोजिरहेका व्यवसायी प्रवलजंग पाण्डेले अन्तिम समयमा आएर आफ्नै साथीसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । भरत आचार्य र प्रवलजंग पाण्डे अत्यन्तै मिल्ने साथी हुन् । त्यतिमात्रै होइन, उनीहरु एउटा औषधी कम्पनीमा साझेदार पनि छन् ।
लामो समयदेखिको मित्रता र एउटै कम्पनीका पार्टनर एकैपदमा चुनाव उठेको संभवत महासंघमा यो पहिलोपट हुने व्यवसायीहरु बताउँछन् । आचार्य र पाण्डे निवर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष चन्द्र ढकाल निकट मानिन्छन् ।
प्रवलले यो पटक महासंघमा आफ्ना मित्र भरतलाई एशोसिएट उपाध्यक्षका रुपमा अघि बढाउन चाहन्थे । त्यसका लागि उनी तीब्र लबिङमा थिए । उनी भरतलाई अञ्जनको टिममा राख्न चाहन्थे ।
तर, शुरुमा कतै पनि खुल्दिन र सकेसम्म सर्वसम्मत उपाध्यक्ष बन्छु भनेर लागेका भरतलाई अन्तिमसम्म प्रयास गर्दा पनि पाण्डेको केही चलेन । र, उनले एशोसिएट उपाध्यक्षमै उठ्ने निधो गरे । पाण्डेका बुबा पनि महासंघका पूर्वअध्यक्ष हुन् ।
शुरुमा अञ्जन श्रेष्ठले भरत आचार्यलाई आफ्नो एशोसिएट उपाध्यक्ष बस्न आग्रह गरे । तर, भरतले अहिले नखुल्ने भन्दै टारिरहे । त्यसपछि अर्का बरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघाईले भरत आफ्नो उपाध्यक्ष भएको दाबी गरे । भरत रामचन्द्रको पक्षमा पनि खुलेनन् । दुबैको टिममा नखुलेपछि उनीहरुले आआफ्ना एशोसिएट उपाध्यक्षका उम्मेद्वार तयार पारे । यही समय अञ्जनले ज्योत्स्ना श्रेष्ठलाई एशोसिएट उपाध्यक्षको उम्मेद्वार बनाए ।
गत फागुन ३० गते गरिएको पत्रकार सम्मेलनमा अञ्जनले ज्योत्स्नालाई एशोसिएट उपाध्यक्षको उम्मेद्वार भनेर चिनाए । उक्त कार्यक्रममा ज्योत्स्नाले पनि अञ्जनकोे टिम महासंघ हाँक्न सक्षम र सबल भएकाले आफू यही टिमबाट उपाध्यक्ष लड्ने बताएकी थिइन् । सो कार्यक्रममा प्रवलजंग पाण्डे पनि उपस्थित थिए । र, भरत अञ्जनको टिममा भएको भए सुनमा सुगन्ध हुने पत्रकारहरुलाई बताएका थिए । ज्योत्स्नाले बिशाल ग्रुप र शंकर ग्रुपबाट केही प्रोक्सी पनि संकलन गरिसकेकी थिइन् । त्यसैले माडवारी समुदायको बर्चस्व रहेको एशोसिएटबाट राम्रै मत पाइने आशामा थिए बरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन ।
तर, ज्योत्स्नाले एक्कासी संघाईको टिमबाट एशोसिएट उपाध्यक्षको उम्मेद्वारी मनोनयर गराउँदा मात्रै अञ्जनको टिम छक्क पर्यो । महासंघभित्रकै र बाहिरको राजनीतिक दबाबमा ज्योत्स्नाले अञ्जनको टिमलाई अन्तर्घात गरेको विश्लेषण गरिएको छ ।
‘ज्योत्स्नाले अञ्जनजीको टिममा अन्तर्घात नगरेको भए पूवल र भरत एउटै पदमा चुनाव उठ्ने थिएनन्,’ एक व्यवसायीले भने, ‘समयले यस्तो पनि गर्दोरहेछ ।’
मा बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको प्यानलबाट भरत एशोसिएट उपाध्यक्षको उम्मेद्वार बनेका छन् । अझै पनि उनी सर्वसहमतिको प्रयास गरिरहेका छन् । खासगरी भरत चन्द्र ढकाल निकट मानिन्छन् भने प्रवलजंग भवानी राणा निकट मान्छिन् । स्वत अध्यक्ष हुँदै गरेका चन्द्र ढकाल सकेसम्म सर्वसहमतिमा नेतृत्व चयन होस् भन्ने चाहन्छन् । त्यसैले उनले बरिष्ठ उपाध्यक्ष तथा अन्य उपाध्यक्ष पदमासमेत सर्वसहमतिको प्रयास गरिरहेका छन् ।
‘अब चन्द्रजीसँग मात्रै अस्त्र छ, उहाँले आफूसँग भएको अस्त्र कसरी प्रयोग गर्नुहुन्छ र कतिको प्रभावकारी बन्छ त्यो भने हेर्न बाँकी नै छ,’ एक व्यवसायीले भने ।