झापामा व्यापक असिनापानी, तरकारी र मकै सखाप, घरका छानामा प्वालै-प्वाल (१२ तस्बिरमा हेर्नुहोस्)
झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा व्यापक क्षति पुर्याएको छ ।
हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
‘हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ,’ उनले भने, ‘स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।’
असिनापानीले झापाको कनकाई नगरपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । ‘असिनाले बालीनाली सखाप पारेको छ, घरका टिनका छाना प्वालै-प्वाल परेका छन्,’ सुरुंगाका रोहित कोइरालाले भने, ‘नगरपालिका क्षेत्रमा ठूलो क्षति पुगेको छ, मकैका पातसमेत बाँकी छैनन्, चराचुरुंगीसमेत मरेका छन् ।’
असिनापानीले बालीनाली र घरका छानामा ठूलो क्षति गरेपछि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल क्षतिको अवलोकन गर्न दिनभर स्थानीयका घर-घर पुगेका थिए ।
कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर क्षतिबारे बुझ्ने काम भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।
कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति गरेको छ । असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ ।
कृषि फार्महरूमा लगाइएको तरकारीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । मकैबालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताए ।
जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
(तस्बिर सौजन्य: रोहित कोइराला)