मोरङ व्यापार संघका प्रतिनिधि र भारतीय सरकारी उच्च अधिकारीबीच भेटवार्ता



विराटनगर । मोरङ व्यापार संघको टोली र भारत सरकारका उच्च अधिकारी बीच सीमा नाका जोगबनीमा भेटवार्ता भएको छ ।

संघका प्रतिनिधि र राजस्व विभागका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका सदस्य सञ्जयकुमार अग्रवाल, पटना भन्सार क्षेत्रका मुख्य आयुक्त (चिफ कमिस्नर) अजय सक्सेना र पटना भन्सारका प्रधान आयुक्त (प्रिन्सिपल कमिस्नर) पीके कटियारलाई एकीकृत जाँच चौकी (आईसीपी) जोगबनीमा भेटवार्त भएको हो ।

भेटवार्तामा संघका निर्वतमान अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, वाणिज्य उपाध्यक्ष अनिलकुमार साह, सदस्यद्वय अमित सारडा र श्याम राठीसहितको सहभागित थियो ।

भेटमा वरिष्ठ उपाध्यक्ष राठीले रेलमार्गबाट आईसीपी, जोगबनीसम्म बल्क कार्गो र कन्टेनरहरुको आवतजावतको व्यवस्था गरिनुपर्ने, नेपालका कृषि उत्पादन निर्यात गर्न आईसीपी, जोगबनीमा पीएफए टेस्ट ल्याब (परीक्षण प्रयोगशाला) र खाद्य क्वारेन्टाइन कार्यालय स्थापना गरी पोर्ट हेल्थ अफिसर नियुक्त गरिनुपर्ने, हाल जुट निर्यातमा प्रत्येक ट्रकपिच्छे अनिवार्य गरिएको ओजो सर्टिफिकेसनलाई सहज गरिनुपर्नेलगायतका सुझाव पेस गरेका थिए ।

कार्यक्रममा आईसीपी, जोगबनीका व्यवस्थापक रत्नाकर यादवले आईसीपी, जोगबनीका गतिविधिबारे अवगत गराएका थिए भने केही अन्य व्यावसायिक प्रतिष्ठानले आ–आफ्ना सुझाव पेस गरेका थिए ।


क्लिकमान्डु