ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन भए बैंकका प्रबन्धक



खोटाङ । प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ घर भएका प्रभु बैंक (तत्कालीन सेन्चुरी बैंक) का प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ देखि सम्पर्कविहीन भएका हुन् ।

प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्ति फसेको भन्दै अत्तालिन थालेका छन् । माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

प्रबन्धक खतिवडाले सापटी भनेर १० लाख लिएको र पाँच लाख मात्र फिर्ता गरेको दिक्तेलका काँशीराज बस्नेतले बताए । प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट १६ लाखसम्म सापटी पैसा लिएको खुलासा भएको छ ।

खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैंकमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले केही दिनमा फिर्ता गर्ने गरी भतिजोलाई अस्ट्रेलिया पठाउन तयार पारेको पैसा सापटी लिएर सम्पर्कविहीन भएको सोल्माका गंगाबहादुर विश्वकर्माले बताए । ‘मेरो ओडी खाता हेरेर तीन लाख सापटी मागेपछि दिएँ । चार-पाँच दिनपछि फेरि बैंकमा बोलाउनुभयो, फेरि मेरै नाममा काटेको तीन लाखको चेक लैजानुभयो । नदिउँ भने बैंकको हाकिम, कसरी नदिनु ? सबै लोनको काम गर्दिरहेको छ । त्यो विश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ । अहिले आएर फसेँ,’ उनले भने ।

प्रबन्धक खतिवडा सम्पर्कविहीन भएपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, विराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्मा बताउँछन् । उनले चिनजानका व्यक्तिबाट एक करोडभन्दा बढी पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले सोही बैंकको कार्यालय रहेको घरका घरधनी इन्द्रकुमार श्रेष्ठ र उनका छोरा उद्धव श्रेष्ठसँग २ लाख ८७ हजार सापटी लिएका थिए । उनले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ । अहिले खतिवडाको मोबाइल नम्बर अफ छ । उनले बैंकको रकम भने छोएका छैनन् । शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन भएको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ ।

यद्यपि, खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकको आधिकारिक धारणा भने आएको छैन । खतिवडाबाट पीडित भएका स्थानीय बासिन्दा सापटी पैसा फिर्ताका लागि प्रहरी गुहार्ने तयारीमा छन् ।

पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।


क्लिकमान्डु