बागमती प्रदेशका अर्थमन्त्री भन्छन्- अर्थतन्त्र समस्यामा छैन



सिन्धुली । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नेपालको अर्थतन्त्र जटिल अवस्थामा नरहेको तर्क गरेका छन् । सिन्धुलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रमा जटिल समस्या नभए पनि सुधारका लागि निर्यात बढाउनुपर्ने बताए ।

निर्यातको तुलनामा आयात अत्यधिक बढी हुँदा अर्थतन्त्र जोगाइराख्न नसकिने अवस्था आउने उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएको अन्तर्राष्ट्रिय असर नेपालमा पनि परेको छ, उत्पादन वृद्धि गर्दै अनावश्यक खर्च कटौती गर्न सकिएन भने अवस्था जटिल हुनेछ,’ उनले भने।

उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने उनको भनाइ छ । स्वाधीन राष्ट्रियताको सवालमा अघि बढ्न उत्पादन वृद्धि आवश्यक रहेको थपलियाले बताए । उनले मुलकको कृषि उत्पादन वृद्धिपछि उद्योग स्थापना गरी रोगजारी सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए ।

कृषिक्षेत्रमा अनुदान बढाएर उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्ने आवश्यकता उनले औँल्याए । बागमती प्रदेशले फजुल खर्च रोक्न चालू पुँजीमा २० प्रतिशत खर्च कटौती गरेको उनले जानकारी दिए ।

प्रदेश सरकार यतिबेला पुँजीगत खर्च बढाउन लागिपरेको थपलियलाको भनाइ छ । ‘वर्तमान सरकार गठन हुँदा १० प्रतिशत भएको पुँजीगत खर्च अहिले २५ प्रतिशतसम्म पुगेको छ,’ उनले भने, ‘पुँजीगत खर्च वृद्धि गर्ने, विकासलाई व्यवस्थित गर्ने समृद्ध विकास कसरी गर्न सकिन्छ भनेर ध्यान दिइरहेको छु ।’

उनले आगामी आर्थिक वर्षमा बजेट वृद्धि गर्नेतर्फ संकेत गर्दै चालू आवको ७२ अर्बबाट ८० अर्ब बजेट पुर्‍याउनुपर्ने बताए । प्रदेशका १३ वटै जिल्लाको सन्तुलित विकासमा ध्यान दिएर बजेट ल्याउने उनको भनाइ छ । उनले आगामी आवको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारमा जोड दिइने पनि बताए ।


क्लिकमान्डु