व्यापार व्यवसायको उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छः डा. नेपाल



कास्की । देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरामा आइतबार आयोजित ‘लथालिंग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक’ अन्तर्क्रियाका वक्ताले सरकार र नीति निर्माताले अर्थतन्त्रको सुधारमा तत्काल ध्यान दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा अर्थशास्त्री एवं पूर्वगर्भनर डा. चिरन्जीवी नेपालले सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था यस्तो भएको बताए । ‘मैले धेरैपटक भनेको पनि छु, नियामक र नीतिगत तहमा भएकाहरु गम्भीर भएजस्तो लाग्दैन,’ उनले भने, ‘अझै सरकार नीतिगत सुधार गर्न सचेत छैन ।’

मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्ने उनको सुझाव छ । मौद्रिक नीति राम्रो नभएसम्म अर्थतन्त्रको सुधार हुन नसक्ने नेपालको भनाइ छ । पूर्वगर्भनर नेपालले सबैले चाहेमा अर्थतन्त्रमात्र नभई देश नै सुधार हुनसक्ने भन्दै त्यसका लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा जोड दिए । व्यापार व्यवसायको उत्थानका लागि पूरक बजेट ल्याउनुपर्ने उनको सुझाव छ ।

‘व्यापार व्यवसाय उत्थानका लागि सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ। अहिले बैंकमा अधिक ब्याज हुँदा कर्जा माग भइरहेको छैन, यसमा ध्यान दिनुपर्छ, ‘पूर्वगर्भनरले भने, ‘अहिले पैसा बाहिर-बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्ट्री बजेट ल्याउनुको विकल्प छैन । यो सत्य हो ।’

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिएको हुँदा समस्या आएको बताए । उनले आफ्नो पार्टी सरकारमा हुँदा र आाफू स्वयं उद्यम क्षेत्रमा रहेको अनुभवले पनि देश अझ संकटतर्फ उन्मुख भएको तर्क गरे ।

‘हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएको छ । हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन । हामीसँग योजना धेरै छन् तर रणनीति केही छैन,’ सांसद झाले भने । उनले देशमा सधैँ राजनीतिक योजना बन्ने तर अर्थतन्त्रका लागि कुनै योजना नबन्ने गरेको बताए ।

त्यस्तै पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पुँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए । उनले पुँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने सुझाव दिए । ‘गण्डकी प्रदेशमा कृषि र पर्यटनको ठूलो सम्भावना  छ। कृषिलाई पर्यटनसँग जोडेर अभियान चलाउन सकिए प्रदेशको आर्थिक वृद्धिमा सकारात्मक सुधार हुनेछ,’ उनले भने । रेग्मीले यसबाहेक प्रदेशमा जलविद्युत र पूर्वाधारमा समेत सम्भावना भएको भन्दै यसका लागि नीतिगत स्थिरता आवश्यक हुनेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्नसमेत कठिन भएको गुनासो गरे । ‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं । अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पनाभन्दा बाहिरको कुरा हो,’ उनले भने।

अर्थतन्त्र धराशयी भएको र बजार पीडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने उनले बताए । यो समस्या कसले निराकरण गर्ने भनेर व्यवसायी चिन्तित भएको उनको भनाइ छ ।

‘बेस रेट तोकिसकेपछि फेरि बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने ? ब्याजदर १० प्रतिशतभन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीका लागि अझ ब्याज घटाउनुपर्छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठले समस्याको समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह पनि गरे । उनले उद्योग व्यवसाय र लगानीमैत्री वातावरण सिर्जनाका लागि सधैँ अग्रसर रहने प्रतिबद्धता जनाए ।

यस्तै उद्योगी किशोर श्रेष्ठले अहिले उद्यमीको मन रोएको र कसरी उद्योग व्यवसाय चलाउने भनेर रुने अवस्थामा आएको बताए । उनले व्यवसायीलाई आगामी २ वर्षसम्म बैंक ऋण र ब्याज तिर्न सहजता र सहुलियत दिन माग गरे ।

कार्यक्रममा व्यवसायीहरुले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवासमेत खपत नभएको भन्दै बजारमा सहज रुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताएका थिए ।


क्लिकमान्डु