अमेरिकाका दुई बैंकपछि क्रेडिट स्वीस बैंक पनि संकटमा, खरिद गर्न खोज्दै युबिएस



एजेन्सी । आर्थिक संकटका कारण असहज परिस्थितिको सामना गरिरहेको क्रेडिट स्वीस बैंकलाई युबिएसले खरिद गर्न खोजेको विभिन्न रिपोर्टले देखाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाअनुसार स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक यूबीएसले आर्थिक संकटमा फसेको प्रतिद्वन्द्वी बैंक क्रेडिट स्वीसलाई पूर्ण रुपमा वा केही हिस्सा किन्न लागेको हो ।

पछिल्ला दिनहरुमा क्रेडिट स्वीस बैंकको सेयरमा भारी गिरावट आएको छ । बैंको वित्तीय अवस्थाको बारेमा जानकारी दिँदै क्रेडिट स्वीसले आफ्नो वित्तीय कारोबारमा गम्भीर गडबडिहरु पत्ता लागेको बताएको छ । स्वीस नेसनल बैंकले क्रेडिट स्वीस बैंकलाई संकटबाट बाहिर ल्याउनका लागि ५४ अर्ब अमेरिकी डलर आपतकालीन सहयोग पनि दिएको थियो । तर, उक्त सहयोगले पनि संकट भने टरेको छैन ।

सोमबार सेयर बजार खुल्नुअघि स्वीस बैंकको निश्चित हिस्सा वा पूरै बैंक नै खरिद बिक्री गर्ने विषयमा छलफल भइरहेको थियो ।
गत बुधबार क्रेडिट स्वीस बैंकको सेयरमा २४ प्रतिशतसम्मको गिरावट आएको थियो । त्यसपछि उक्त बैंकको सेयरमा थप गिरावट देखिने आकंलन गरिएको छ । त्यसलगत्तै युरोपेली बजारमा चिन्ताको समय सुरु भएको थियो । ठूलो आर्थिक संकटको विषयलाई लिएर युरोपेली समुदायमा चिन्ता फैलिएको थियो ।

शनिबार राती स्वीट्जरल्याण्ड सरकारको आपतकालीन बैठक बस्दै यो विषयमा छलफल भएको थियो । तर, अहिलेसम्म पनि स्वीस क्रेडिट बैंकको खरिदबिक्रीको विषयलाई लिएर कुनै आधिकारिक घोषणा सार्वजनिक भएको छैन ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उदृत गर्दै बताएअनुसार युबीएसले त्यहाँको सरकार समक्ष यदि उक्त कम्पनीले क्रेडिट स्वीस बैंकलाई किनेमा सरकारले ६ अर्ब डलरको मूल्य चुकाउनु पर्ने माग गरेको छ । र यदि क्रेडिट स्वीस बैंकको खरिद सम्झौता भएमा धेरैले रोजगारी पनि गुमाउनु पर्ने हुनेछ । रोयटर्सकाअनुसार दुवै बैंक एकै हुने अवस्था आएमा १० हजार जनासम्मले रोजगारी गुमाउने छन् ।

स्वीट्जरल्याण्डको बैंकको यो संकट यस्तो समयमा आएको छ जतिबेला अमेरिकामा सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका छन् । यसपछि विश्व भरि नै बैंकिङ प्रणालीको विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । अमेरिकाको सिग्नेचर बैंकले ठूलो घाटाको सामना गर्नुपर्ने विषयमा कुरा निकालेको थियो र थप फण्ड जुटाउन असहज अवस्था भएको बताएको थियो । जसकारण विश्वभरमै स्टार्टअप व्यवसायहरु प्रभावित हुने देखिएको छ ।

१६७ वर्ष पहिले क्रेडिट स्वीस बैंक सन् १८५६ मा खुलेको थियो । पछिल्ला वर्षहरुमा यो बैंकले कैयौं विवादहरुको सामना गर्नु परेको छ । जसमध्ये केही सम्पत्ति शुद्धीकरणका विषयहरु पनि रहेका छन् ।

क्रेडिट स्वीस बैंकले सन् २०२१ मा घाटा बेहोर्नु परेको थियो । त्यसपछि सन् २०२२ मा पनि बैंकलाई ७.९ अर्ब डलरको नोक्सान भएको थियो । सन् २००८ पछि सन् २०२२ नै क्रेडिट स्वीस बैंकको लागि सबैभन्दा खराब समय थियो । बैंकले २०२४ भन्दा अघि आफू फाइदामा जान नसक्ने बताएको थिय ।


क्लिकमान्डु