यही अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेस हुन्छ: मन्त्री मोदी



जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालू अधिवेशनमै संघीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री मोदीले आफू जिम्मेवारीमा आएपछि ऐनका विषयमा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख र स्थानीय तहका प्रमुखहरूसँग छलफल गरी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘दोस्रो संविधानसभा, अघिल्लो प्रतिनिधिसभादेखि निरन्तर संसदमा भएकाले ऐन स्थानीय तहदेखि केन्द्रसम्मले भोग्नुपरेका समस्याबारे जानकार छु,’ उनले भने, ‘स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । सुशासन, कर्मचारी व्यवस्थापनलगायतका समस्या छन् । त्यसलाई सम्बोधन गर्ने गरी छिट्टै ऐन आवश्यक छ ।’

मन्त्री मोदीले नयाँ बन्ने ऐनमा तहगत प्रणाली र कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्ने गरी सहमति भएको जानकारी दिए । ‘ऐनमा तहगत प्रणाली र उमेर हदका विषयमा सहमति भएको छ । कर्मचारी सरोकारका विषयमा पनि सम्बोधन भएकाले धेरै समस्या समाधान हुने सरकारको अपेक्षा छ,’ उनले भने, ‘ट्रेड युनियन अधिकारका विषयमा पनि केही व्यवस्था गर्न लागिएको छ ।’

माओवादीनिकट कर्मचारी संगठन निजामतीका राष्ट्रिय अध्यक्ष हरिबहादुर रावल र आधिकारिक ट्रेड युनियनका सचिव अम्बादत्त भट्टलगायतले ट्रेड युनियन अधिकारबिनाको ऐन स्वीकार्य नहुने र यसमा गम्भीर नभए कर्मचारी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।


क्लिकमान्डु