सडक अनुगमनमा पुगेका मन्त्री श्रेष्ठको अगाडि स्थानीयबीच विवाद



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ ।

शुक्रबार मन्त्री श्रेष्ठ मूलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो ।

उनीहरुले सडकमा परेको घर मुआब्जा नदिइ भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पत्ति नछोड्ने भन्दै मन्त्रीसमक्ष गुनासो गरेका थिए । तर अर्का स्थानीयले सडक छेउको जग्गा बाटो छोडेर बेचेको बताए ।

उनले घरधनीले दुःख गरेर कमाएको सम्पत्ति सरकारलाई सित्तैमा दिन नसकिने बताए । जग्गाको मुआब्जा नदिए सडक नबनाउन अदालतको आदेश रहेकाले सरकारले मुआब्जा दिनुपर्ने उनको भनाइ थियो ।

त्यत्ति नै बेला मन्त्री श्रेष्ठले सरकारले अदालतको आदेश पालना गर्ने भन्दै सडकमा परेका जग्गा धनीले एक पटक मुआब्जा आएर पनि पुनः माग गरेकोप्रति जवाफ मागेका थिए ।

जग्गा धनीले मन्त्रीलाई अहिलेसम्म मुआब्जा नपाएको सुनाए । उनले सडकमा जग्गा पर्ने अरु सबैको आफूले जिम्मा लिन नसक्ने भन्दै अरुको विषय बोल्न उचित नरहेको बताए । विवाद चर्किएपछि मन्त्रीले अदालतको फैसलाबारे आफू जानकार रहेकाले अदालतको फैसलाअनुसार नै सडक निर्माण अघि बढ्ने बताए ।


क्लिकमान्डु