नेपाल वायुसेवा निगम सुधारका लागि पर्यटन मन्त्रालयले माग्यो नागरिकसँग सुझाव

105
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सुधार गर्न बनेको पछिल्लो सरकारी समितिले आम नागरिकसँग सुझाव मागेको छ । सरकारले निगमको समग्र सुधारका लागि आवश्यक सुझावसहितको कार्ययोजनाका लागि गत चैत ५ गते एक अध्ययन समिति गठन गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलको संयोजकत्वको उक्त सरकारी समितिले प्रतिवेदन बनाउने क्रममा आम सर्वसाधारण तथा सरोकारवालाहरूबाट रचनात्मक सुझाव माग गरेको हो।

पर्यटन मन्त्रालयले जारी गरेको एक सूचना अनुसार निगमको संरचनात्मक र सेवागत सुधारका लागि सुझाव आह्वान गरेको उल्लेख छ ।

मन्त्रालयले गत चैत ५ मा सचिवस्तरीय निर्णयबाट निगमको सुधारका लागि अध्ययन गर्न एउटा समिति गठन गरिएको थियो। उक्त समितिले निगमको वर्तमान संरचना, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन लगायतका समग्र पक्षमा अध्ययन गरिरहेको छ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल वायुसेवा निगमको संरचना, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन लगायत समग्र सुधारका लागि सचेत नागरिक तथा सेवाग्राहीको रूपमा रचनात्मक सुझावहरू दिनुहुन ईच्छुक सबैलाई आह्वान गरिन्छ।’

यसका लागि इच्छुक व्यक्ति वा संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्ना सुझावहरू मन्त्रालयमा ९८५१३१२७२२ नम्बरमा सुझाव दिन सकिने उलेख छ ।

लामो समयदेखि आर्थिक संकट र व्यवस्थापकीय कमजोरीका कारण आलोचना खेपिरहेको राष्ट्रिय ध्वजावाहक निगमलाई सुधार गर्न सरकारले अध्यन समिति बनाएरै आवश्यक पहल थालेको हो। ढंगोल नेतृत्वको समितिका सदस्य सचिव गोकर्ण प्रसाद उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा नागरिकका रचनात्मक सुझावहरूले निगमको भविष्यको मार्गचित्र कोर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।