अमेरिकी ट्रेजरी बोन्डमा वैदेशिक स्वामित्व उच्च विन्दुमा, जापान पहिलो नम्बरमा

133
Shares

एजेन्सी । फेब्रुअरी महिनामा अमेरिकी ट्रेजरी बोन्डमा वैदेशिक स्वामित्व ऐतिहासिक उच्च विन्दुमा पुगेको बुधबार सार्वजनिक तथ्यांकले देखाएको छ ।

बजारले फेडरल रिजर्भको ब्याजदर नीतिबारे पुनरवलोकन गरिरहेकै अवस्थामा पनि अमेरिकी ऋणपत्रप्रति विदेशीहरूको बलियो आकर्षण देखिएकाले यो लगातार दोस्रो महिना बढेको हो ।

ट्रेजरी विभागको तथ्यांकअनुसार, फेब्रुअरीमा विदेशीहरूको होल्डिङ २.१ प्रतिशतले बढेर ९.४९ ट्रिलियन डलर पुगेको छ जुन अघिल्लो महिना ९.२९ ट्रिलियन डलर थियो ।

एक वर्ष अघिको तुलनामा विदेशीहरूको स्वामित्वमा रहेका ट्रेजरी बोन्डहरू ६.६ प्रतिशतले बढेका छन् । त्यसले यस वर्षको सुरुमा घट्दो प्रतिफल र अन्य विकसित बजारहरूको तुलनामा अमेरिकी प्रतिफलको सापेक्षिक आकर्षणलाई प्रतिबिम्बित गर्छ ।

यस वृद्धिमा अमेरिकी सरकारी ऋणका दुई सबैभन्दा ठूला वैदेशिक होल्डर्स जापान र बेलायतको मुख्य भूमिका रहेको छ ।

जापान अमेरिकी ट्रेजरी बोन्डको सबैभन्दा ठूलो गैर–अमेरिकी होल्डरका रूपमा कायमै छ । फेब्रुअरीमा यसको होल्डिङ बढेर १.२३९ ट्रिलियन डलर पुगेको छ जुन फेब्रुअरी २०२२ पछि कै सबैभन्दा बढी हो (त्यतिबेला यो १.३०३ ट्रिलियन डलर पुगेको थियो) ।

पछिल्ला १४ महिनामध्ये १३ महिनामा जापानको होल्डिङ बढेको छ । बैंक अफ जापानले अझै पनि आफ्नो अति–लचिलो नीतिबाट बाहिर निस्कने प्रयास गरिरहेको र स्थानीय ब्याजदर न्यून रहेका कारण बढी प्रतिफलको खोजीमा रहेका त्यहाँका संस्थाहरूबाट स्थिर माग आएको यसले देखाउँछ ।

विश्लेषकहरूका अनुसार, सुधारिएको करेन्सी–हेज्ड प्रतिफलले पनि जापानी मागलाई सहयोग गरेको छ ।

ट्रेजरी बोन्डको दोस्रो ठूलो मालिक बेलायतले पनि आफ्नो होल्डिङ जनवरीको तुलनामा २ प्रतिशतले बढाएर ८९७.३ अर्ब डलर पुर्याएको छ । बेलायतलाई विश्वव्यापी लगानीकर्ताहरूको प्रमुख कस्टडी हब मानिन्छ र त्यहाँ हुने पूँजी प्रवाहलाई प्रायः हेज फन्डहरूको रणनीतिक स्थितिको संकेतका रूपमा लिइन्छ ।

ट्रेजरी बोन्डको तेस्रो ठूलो वैदेशिक होल्डर चीनले भने फेब्रुअरीमा आफ्नो होल्डिङ सामान्य घटाएर ६९३.३ अर्ब डलरमा पुर्याएको छ ।

जनवरी २०२५ देखि चीनको ट्रेजरी बोन्डको सञ्चिति ९ प्रतिशतले घटेको छ । यो भूराजनीतिक तनावका बीच अमेरिकी सम्पत्तिबाट टाढिने र आफ्नो सञ्चितिलाई अन्य मुद्रा र लगानीमा विविधीकरण गर्ने दीर्घकालीन प्रवृत्तिको हिस्सा हो ।

फेब्रुअरीमा वैदेशिक मागमा भएको यो वृद्धि सोही महिनामा १० वर्षे ट्रेजरी बोन्डको बेन्चमार्क प्रतिफल करिब ४.२७७ प्रतिशतबाट घटेर ३.९६२ प्रतिशतमा पुगेको समयसँग मेल खाएको छ ।

समग्रमा, तथ्यांकले फेब्रुअरीमा १८४.५ अर्ब डलरको शुद्ध पूँजी प्रवाह भएको देखाएको छ जबकि जनवरीमा प्रारम्भिक तथ्यांक अनुसार २५ अर्ब डलर पूँजी बाहिरिएको थियो ।

फेब्रुअरी २८ मा सुरु भएको इरानसँगको अमेरिका–इजरायल युद्धले बजारको मनोविज्ञानमा पारेको असरका कारण मासिक शुद्ध पूँजी प्रवाह आगामी दिनमा अस्थिर रहन सक्छ ।