बेनी-जोमसोम-कोरोला सडक धमाधम कालोपत्रे



मुस्ताङ । बहुचर्चित बेनी-जोमसोम-कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठेपुलसम्म धमाधम कालोपत्रे भइरहेको छ । गौरी-पार्वती/कोषी एन्ड न्यौपाने जेभीले कालोपत्रेलाई तीव्रता दिएको हो ।

मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका-३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भण्डारीले बताए । उनले सरोकारवाला निकायले चासोका साथ सहयोग गरिरहेको पनि जानकारी दिए ।

‘कालोपत्रको काम सक्नेबित्तिकै जोमसोम एयरपोर्टदेखि एक किलोमिटर ढलानको कामसमेत सुरु गर्छौँ,’ उनले भने । प्राविधिक समस्या नआए असार मसान्तसम्म कालोपत्रसँगै अन्य महत्वपूर्ण कामसमेत सकिने उनको भनाइ छ ।

चार नम्बर प्याकेजअन्तर्गत १७ किलोमिटर सडक सम्पन्न गर्न हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको बेनी-जोमसोम-कोरोला सडक आयोजनाले जनाएको छ । हाल भइरहेको काम कालोपत्रे र सडक ढलानको हो ।

यसमा १६ किलोमिटर अस्पताल पेमेन्ड कालोपत्रे र एक किलोमिटर आरसीसी (रिजिट पेमेन्ड ढलान) गरिने बेनी-जोमसोम-कोरोला सडक आयोजनाका सब-इन्जिनियर तुलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कालोपत्रे सम्पन्न गर्न ७० करोड ५२ लाख ५७ हजार लागत लाग्नेछ ।

चार नम्बर प्याकेज (ठेक्का नम्बर-४) मा हुन लागेको उक्त कालोपत्रेको काम समयमै सक्न आयोजना लागिपरेको उनले बताए । ‘सधैँभरि सडकलाई दोष दिएर मात्र हुँदैन, जिल्लाका नियमनकारी निकाय, राजनीतिक दल, सरोकारवाला निकाय र सम्बन्धित स्थानका जनप्रतिनिधिले चासो दिनुपर्छ,’ उनले भने ।

२०७३ चैत १ देखि सुरु भएको बहुचर्चित बेनी-जोमसोम-कोरोला सडक कठिन भू-बनोटका कारण पनि समयमै नसकिएको हो । म्याग्दीको बेनीदेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घासा पुछार अर्थात् काभ्रे भिर र घोप्टे भिरसम्म कठिन भू-बनोटकै कारण सडक निर्माण कार्य ढिलाइ भइरहेको छ ।

यद्यपि, मुस्ताङको घासादेखि जोमसोमसम्म सडक निर्माण कार्यले भने तीव्रता पाएको छ । विगत केही वर्षयता कोभिड-१९ र बाढी पहिराका कारण काममा ढिलाइ भइरहेकाले गर्दा पनि मुस्ताङका जनतामा निराशा छाएको थियो ।

सडक स्तरवृद्धि र कालोपत्रको काममा ढिलाइ अनि म्याद थप जस्ता अन्य धेरै कुराले गर्दा आम मुस्ताङवासीलाई दुःखी बनाएको थियो । अब भने सबै तह र तप्काका सरोकारवाला निकायले चासो दिँदा कामले गति लिएको छ ।

यसैबीच, मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेका वडाध्यक्ष सुरेश थकालीले म्याद थप मात्रै गरिरहने तर काममा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताएका छन् ।


क्लिकमान्डु