खस्कियो हस्तकला व्यापार



कास्की । कोभिड-१९ महामारीपूर्व पोखराबाट बर्सेनि दुई करोडभन्दा बढीको हस्तकला सामग्री विदेश निर्यात हुन्थ्यो । स्वदेशी बजारमा पनि राम्रै माग थियो । कोभिडयता पर्यटकको आउजाउ घटेसँगै हस्तकला व्यापार पनि खस्कियो ।

अन्तर्राष्ट्रिय बजारमा माग घट्यो । महामारी थामिए पनि हस्तकलाको व्यापार भने अझै पूर्ववत् स्थितिमा फर्कन सकेको छैन । विस्तारै तङ्ग्रिने बाटोमा भने छ । पोखरास्थित महिला सीप विकास संस्थाका अनुसार अहिले वार्षिक झण्डै एक करोड रूपैयाँबराबरको मात्र हस्तकला सामग्री विदेश निर्यात हुने गर्छ ।

संस्थाको अन्तर्राष्ट्रिय बजार हेर्ने रश्मी शाक्यले समग्र वार्षिक कारोबार १ करोड ५० लाख हाराहारीमा खुम्चिएको बताइन् । उनका अनुसार नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या घटेकाले हस्तकला व्यापार खस्केको हो ।

हस्तकलाका सामग्रीको किनबेच बढीजसो पोखराको लेकसाइड, काठमाडौँको ठमेललगायत पर्यटकीय क्षेत्रमा हुन्छ । संस्थाले उत्पादन गर्ने हस्तकलाका सामग्रीमध्ये २० प्रतिशत मात्र खपत नेपाली बजरामा हुने गरेको छ । असी प्रतिशत सामग्री विश्व बजारमा पुग्ने गर्छ ।

हस्तकलाका सामान महँगो पर्ने भएकाले नेपाली ग्राहकको पहुँचमा खासै पर्दैन । सजावट र सोखका लागि किन्नेको सङ्ख्या पनि अति न्यून छ । हस्तकलाका मुख्य ग्राहक विदेशी पर्यटक नै हुन् । कोभिड–१९ महामारीलगायत कारणले पर्यटक आगमन उल्लेख्यरूपमा नहुँदा सामानको खपत कम भएको हो ।

उक्त संस्थाले विदेशबाट माग आएपछि आवश्यक भन्सार प्रक्रिया पूरा गरेर सामान विदेशमा निर्यात गर्ने गर्छ । संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले कोभिड महामारीपछि हस्तकला उद्यममा लाग्ने महिलाको सङ्ख्या पनि घटेको बताइन् ।

पहिले उक्त संस्थामा ६ सयभन्दा बढी उद्यमी महिला आबद्ध रहेकामा अहिले जम्मा तीन सय ५० जना मात्र छन् । बजार मागका आधारमा मात्र हस्तकलाका सामान उत्पादन गर्ने गरिएको कार्यकारी निर्देशक खड्काले उल्लेख गरिन् ।

सामान्य अवस्थामा संस्थाले वार्षिक चार करोड रुपैयाँ बराबरको सामग्री उत्पादन तथा बिक्रीवितरण गर्ने गरेको उनले जानकारी दिइन् । हस्तकला व्यापार प्रवर्द्धन र महिला उद्यमीका लागि राज्य सहयोगी बन्नुपर्ने कार्यकारी निर्देशक खड्काले बताइन् ।

२०३२ सालमा स्थापित उक्त संस्थाले महिलाका लागि सीप र आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म २१ हजार बढी महिलाले संस्थाबाट हस्तकला सीप आर्जन गरेका छन् । संस्थामा आबद्ध महिला हस्तकला सिकेर स्वरोजगार बनेका छन् ।

कतिपयले आफ्नै उद्योग खोलेका छन् । कोही अन्यत्र पनि काम गर्छन् । संस्थाद्वारा सञ्चालित हस्तकला उद्योगमा धागो, अल्लो, हेम, उन, मकैको खोस्टालगायत स्थानीय कच्चापदार्थको प्रयोगबाट झोला, टोपी, कार्पेट, लुगा, सजावटका सामग्री आदि उत्पादन हुँदै आएको छ ।

पोखराका उद्यमी महिलाले तयार पारेका हस्तकलाका सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने तयारी भइरहेको संस्थाका अध्यक्ष देवी गुरुङले बताइन् । केही दिनअघि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उक्त संस्थाले पोखरामा हस्तकला प्रदर्शनी गरेको थियो ।

भारत र बेलायतमा छिट्टै प्रदर्शनी आयोजना गरिने भएको हो । उद्यमी महिलाले ६ महिना लगाएर हाते तानबाट तयार पारेको १६ मिटर लामो ‘नेचुरल टेक्सटायल कार्पेट’ पनि उक्त प्रदर्शनीमा राखिने अध्यक्ष गुरुङको भनाइ छ । उद्यमीले कटनको धागोलाई आफैँ प्राकृतिक रङ दिएर हाते तान बुनाइबाट सामान उत्पादन गर्ने गर्छन् ।


क्लिकमान्डु