चिराइतोको मूल्य अलैँचीको भन्दा बढी



ताप्लेजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १० हजार रुपैयाँले बढेको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार दरले कारोबार भएको चिराइतो अहिले ४० हजार रुपैयाँ पुगेको हो ।

पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोत अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् ।

‘गत वर्ष ३० हजार प्रतिमन कारोबार भएको थियो, हिजोआज मूल्य बढेर ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार भइरहेको छ,’ सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने ।

गत वर्ष १८ हजार हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजार रूपैयाँसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजार रुपैयाँसम्ममा लिने गरिएको छ । चिराइतो संकलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेक छन् ।

व्यवसायीका अनुसार चिराइतो सुके-नसुकेको हेरेर मूल्यमा केही तल-माथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् । ‘कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिनेभन्दा एक हजार बढी दिन्छन्,’ व्यवसायी बरालले भने ।

केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ । मूल्य वृद्धि भएसँगै चिराइतो संकलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन् ।

लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् । यो वर्ष प्रतिमन ३२-३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए ।

व्यावासायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष ८ मनभन्दा बढी चिराइतो उत्पादन गरेका छन् । उतारचढाव आइरहने चिराइतोको मूल्य अहिले सुधारिएकाले किसानलाई राहत मिलेको छ ।

लेलेपका बुद्धिमान राईले पनि मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताए । हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जंगल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उनको भनाइ छ । आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन् । मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन् ।

तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो संकलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष १ सय ५० मन चिराइतो संकलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्‍याएको बताए ।

सिरिजंघाको खेवाङका व्यवसायी नरेन्द्र तिवारीले पनि गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो संकलन भएको बताएका छन् । उनका अनुसार कतिपयले चिराइतोखेती छाडेका छन् । तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएक छन् ।

ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो संकलन गर्न सकिने डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संकलक र व्यवसायीले भने आधाजसोले मात्र पुर्जी लिने गरेका छन् ।

उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि एक हो । समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ ।

भूगोल हेरी मंसिरदेखि चैतसम्म चिराइतोको संकलन हुन्छ । औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।


क्लिकमान्डु