काठमाडौँ महानगरले विस्तार गर्यो कम्पोस्ट मल बनाउने कार्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहोरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोस्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेसनमा एक स्थानबाट मात्रै कुहिने फोहोरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने कार्यको थालनी गरेको छ ।
परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र एक महिनाभित्र अन्तिम फोहोर विसर्जन स्थान वञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी कामपाको छ ।
टेकुका ती दुई स्थानका काम सफल भए उपत्यकाको अन्य स्थानमा पनि यस कार्यलाई विस्थार गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । कम्पोस्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ ।
पटक‑पटक कुहिने फोहोर व्यवस्थापन गर्न समस्या झेलिरहेको कामपालाई विभिन्न स्थानमा कम्पोस्ट मल बनाउने कार्य विस्तार भएसँगै फोहोर व्यवस्थापनको लागि सहज हुने बताइएको छ ।
उपत्यकामा नै उत्पादन भएको कुहिने फोहोरबाट मल उद्योग सञ्चालन गर्ने र दीर्घकालीन फोहोर व्यवस्थापन स्थानमा थोरै मात्र फोहोर व्यवस्थापन गर्ने भने पनि स्थान अभावको कारण देखाउँदै उद्योग विस्तार गर्नेगरी कामपाले कुहिने फोहोरको व्यवस्थापन गर्न सकेको छैन ।
अहिले उपत्यकामा उत्पादन भएका सबै फोहोर अन्तिम फोहोर व्यवस्थापन स्थानमा लानुपर्ने अवस्था छ । यसरी सबै फोहोर ल्याण्डफिलमा व्यवस्थापन गर्दा छिटो भरिने र थप समस्या आउने सक्ने बताइएको छ ।
फोहोर जहाँ उत्पादन भएको छ उक्त स्थानमा नै व्यवस्थापन गर्नुपर्छ भन्दै कामपाले आफ्ना सबै वडा कार्यालयलाई यस विषयमा थप जिम्मेवार बनाउने श्रेष्ठले भन्नुभयो । जसको कारण केही सीमित फोहोर मात्रै अन्तिम व्यवस्थापन स्थलमा पुग्छ र उक्त स्थानको आयु लामो हुन्छ ।
अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहोर वञ्चरेडाँडामा वर्गीकरण विनै विसर्जन हुँदै आएको छ । गत साउन एक गतेदेखि नै कामपाले फोहोर स्रोतमा नै वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि कार्यान्वयन हुन सकेको छैन । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय टन फोहोर वञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन बमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ । ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।