चौधरी ग्रुपको भिभान्ता होटलको व्यापारमा उछाल, २३ करोडको कारोबार



काठमाडौं । चौधरी ग्रुपको भिभान्ता होटलको व्यापारमा उछाल आएको छ । कोभिडका कारण करिब ५० प्रतिशतले घटेको आम्दानी कोभिडपछि व्यापारमा उछाल आएको कम्पनीले जनाएको छ ।

कम्पनीले कोभिडको समय अर्थात् सन् २०२१ मा ९ करोड १२ लाख रुपैयाँको व्यापार गरेको थियो । तर, कोभिडपछि होटल पूर्ण सञ्चालनमा आउँदा सन् २०२२ मा २२ करोड ९६ लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा १७ करोड ६२ लाख रुपैयाँ र सन् २०१९ मा ८ करोड १४ लाख रुपैयाँको व्यापार गरेको थियो ।

चौधरी ग्रुपले सन् २०१४ मा स्थापना गरेको आर एण्ड आर होटल एण्ड रिसोर्ट प्रालिले ललिततपुरको झम्सिखेलमा चार तारे होटल भिभान्ता सञ्चालनमा ल्याएको थियो । होटलले सन् २०१९ को जनवरीदेखि आम्दानी गर्न सुरु गरेको थियो ।

आर एण्ड आर कम्पनीले भारतीय होटल कम्पनी लिमिटेडसँग सम्झौता गरेर ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा ल्याएको हो । आर एण्ड आर कम्पनीमा चौधरी ग्रुपसँगै एनई ग्रुपको पनि स्वामित्व छ । जसमा चौधरी ग्रुपको ७५ प्रतिशत स्वामित्व छ भने २५ प्रतिशत एनई कम्पनीको स्वामित्व छ ।

कम्पनीअनुसार सन् २०२२ मा हालसम्म कै उच्च आम्दानी गरेको उल्लेख छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८१ कोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७९ करोड ६६ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु