एएसटी कम्पनीको व्यापार २१ प्रतिशतले बढ्यो, २ अर्बको कारोबार



काठमाडौं । एएसटी प्रालिको व्यापार २१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २१ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ६० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०११ मा दर्ता भई कारोबार गर्दै आएको कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले बेकरी तथा चकलेट, स्न्याक्स र चाउचाउ, पेय पदार्थ, डेरी, रङ र टेक्स्टायल, अप्टिकल फाइबर र अन्य सामग्रीका लागि आवश्यक कच्चा पदार्थ आयात गरी व्यापार गर्दै आएको छ ।

सुमितकुमार झुनझुनवाला अध्यक्ष र अन्य तीन जना निर्देशक रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६३ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ६९ करोड ३७ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले विशेषगरी भारतसहित अन्य विभिन्न देशबाट ९० प्रतिशत आयात गरी नेपाली बजारमा व्यापार गर्दै आएको छ । उक्त व्यापार गरेकोमध्ये ८१ प्रतिशत हिस्सा कच्चा पदार्थको छ ।

त्यसैगरी कम्पनीले व्यापार गरेकोमध्ये सन् २०२१ मा अप्टिकल फाइबर केबल र अन्य सामग्री क्षेत्रको कारोबार बढ्दा १४ प्रतिशत हिस्सा ओगटेको थियो । तर, सन् २०२२ मा ४ प्रतिशतले घटेको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ३.६८ प्रतिशत अर्थात् ८ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा ४.२५ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामै १ अर्ब ३ करोड ३० लाख रुपैयाँको व्यापार गरिसकेको छ । देशभर तीनवटा शाखा रहेको कम्पनीको कार्यालय भने वीरगन्जमा छ । कम्पनीका शाखा कार्यालय काठमाडौं, बुटवल र इटहरीमा छन् ।


क्लिकमान्डु