हुन्डाईको नयाँ ग्रान्ड आई टेन नेपाली बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई टेन निओसको फेसलिफ्ट भर्सन भित्र्याएको छ । नयाँ मोडल पहिलोको ग्रान्ड आई टेन निओसभन्दा बढी परिष्कृत, आरामदायी र नवीन विशेषतासहितको रहेको कम्पनीले जनाएको छ ।

पहिलाका मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्र्धी बजारमा आकर्षक डिजाइन, विशिष्ट सुविधा र सुरक्षा जस्ता विशेषताका कारण नयाँ कारले नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीको छ । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलईडी टेल लाइट्सजडित लाइटबारले नयाँ ग्रान्ड आई टेन निओसलाई विशिष्ट स्वरूप प्रदान गरेको कम्पनीको दाबी छ ।

त्यस्तै ग्रान्ड आई टेन निओसको अघिल्लो भागमा रहेको पेइन्टेड ब्ल्याक रेडिएटर ग्रिल र एलईडी डेटाइम रनिङ ल्याम्प्सले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षाका हिसाबले पनि नयाँ कार पहिलेको अब्बल रहेको कम्पनीको दाबी छ । पहिलेभन्दा अझ बलियो र सुरक्षित एड्भान्स्ड हाइ-स्ट्रेन्थ स्टिलद्वारा तयार गरिएको ग्रान्ड आई टेन निओसमा चालक तथा यात्रुको सुरक्षाका लागि ४ वटा एयरब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, अटोमेटिक हेडल्यान्प्स, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोललगायत सुविधा छन् ।

नयाँ ग्रान्ड आई टेन निओस १.२ लिटर पेट्रोल इन्जिन पावरमा उपलब्ध छ । १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो ह्याचब्याकको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सका कारण यसमा उत्साहजनक ड्राइभिङ अनुभव मिल्नेछ । नयाँ कारको प्रारम्भिक मूल्य २९ लाख ९६ लाख रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरबाट सबै हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङ सेवा दिँदै आएको छ ।


क्लिकमान्डु