सर्लाहीमा ५ हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त



सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी शिक्षक र कर्मचारीको दरबन्दी खाली छ । जिल्लाका ४ सय ७८ सामुदायिक विद्यालयमा ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली भएको हो ।

जिल्लामा ४ सय ७८ सामुदायिक विद्यालय रहेकामा २ हजार ३ सय ८८ शिक्षक मात्र कार्यरत छन् । ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।

त्यस्तै विद्यालय सहायक परिचर ५ सय ७८, विद्यालय सहयोगी ८६ र निजी स्रोतका शिक्षक १ सय ८ दरबन्दीमा कार्यरत रहेको उनले बताए । सामुदायिक विद्यालयमा २ हजार ९ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन् । शिक्षक पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ ।

जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा अध्यापनमा सुधार हुन सकेको छैन । २० स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् ।

सामुदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेकाले विद्यार्थी संख्या न्यून हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी संख्या धेरै रहे पनि शिक्षक अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन् भने केहीमा विद्यार्थी छैनन् ।


क्लिकमान्डु