केबल र इन्टरनेटको तार व्यवस्थापन गर्दै विराटनगर महानगरपालिका



विराटनगर । मोरङको विराटनगर महानगरपालिका सहरी सौन्दर्यमा ह्रास आउने गरी जथाभावी लत्रिएका केबल र इन्टरनेटको तार व्यवस्थापनमा जुटेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापन थालिएको हो । महानगरपालिकाको निर्देशनपछि केबल तथा इन्टरनेट सेवाप्रदायक कम्पनी आफैं तारको व्यवस्थापनमा जुटेका छन् ।

पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो । तार व्यवस्थापनका लागि सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत गरेको थियो ।

विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरी सौन्दर्यमा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । ‘हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘कानुनविपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौं ।’

अहिले म्याक्स, सुविसु, वर्ल्डलिंक, भायनेट, नेपाल टेलिकमलगायतका कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगर क्षेत्रका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको नगर प्रमुख नागेश कोइरालाले बताए । महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई उनले आग्रह पनि गरेका छन् ।

महानगरले उज्यालो महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सडकबत्ती जडान धमाधम भइरहेको छ । आन्तरिक आयलाई बलियो बनाउन महानगरले करको दायरा विस्तार र संकलनलाई पनि चुस्त बनाउँदै लगेको छ ।


क्लिकमान्डु