फलामका उत्पादनको निर्यात व्यापारमा ४ सय प्रतिशत वृद्धि



काठमाडौं । फलाम र फलामका उत्पादनको निर्यात व्यापार ४ सय प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा गत वर्षको सोही अवधिको तुलनामा फलाम तथा फलामका उत्पादनको निर्यातमा ४०२.५ प्रतिशतले बढेर ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा गत वर्ष १ अर्ब ८ करोड रुपैयाँका फलामका उत्पादन निर्यात भएको थियो । गत वर्षभरमा पनि जम्मा ३ अर्ब ८७ करोड रुपैयाँका मात्र फलामका उत्पादन निर्यात भएको केन्द्रको तथ्यांकले देखाउँछ ।

त्यस्तै अदुवाको निर्यात १६० प्रतिशतले बढेर ६६ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने तामा र तामाबाट बनेका सामानको निर्यात १७८ प्रतिशतले बढेर ४५ करोड छढ लाख नाघेको छ ।

समीक्षा अवधिमा अलैँचीको निर्यात ८५ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड, ऊनी गलैंचाको निर्यात २७ प्रतिशतले बढेर ६ अर्ब ४५ करोड र तयारी पोसाकको निर्यातमा १७.४ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु