बैंक तथा वित्तीय संस्थाप्रति अराजक दुर्गा प्रसाईंले लिए २ अर्ब ७० करोड ऋण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाप्रति अराजक भएर प्रस्तुत भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ अर्ब ७० करोड १२ लाख रुपैयाँ ऋण लिएका छन् ।

गत हप्ता काँकडभिट्टामा आयोजित कार्यक्रममा प्रसाईं बैंक तथा वित्तीय संस्थाप्रति खनिएका थिए । कार्यक्रममा उनले अबको अभियान वित्तीय अराजकता निम्त्याउ केन्द्रित हुने बताए थिए ।

‘निजी बैंकबाट पैसा निकालेर सरकारीमा राख्ने तर कारोबार नगर्ने, सामान आयात नगर्ने, मालपोत तथा राजस्व पनि नतिर्नेमा हाम्रो अभियान केन्द्रित हुनेछ,’ परिवारसहित झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहबाट अभियानको उद्घाटन गराउँदै उनले भनेका थिए, ‘म केही दिनमा विदेश जाँदै छु, रेमिट्यान्स पनि नपठाउन आग्रह गर्छु ।’

कार्यक्रमबाटै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आक्रमण गर्ने घोषणा उनले गरेका थिए । त्यसका लागि २ सय १ जनाको युवा दस्ता पनि तयार पारेको घोषणा उनको थियो ।

‘अब लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने, भित्र पसे डाँका मुद्दा लागिहाल्छ,’ युवालाई जोस्याउने शैलीमा उनले भने, ‘मोसो दल्दा केही समस्या पर्दैन। जम्मा ५ दिन लगेर हिरासतमा राख्छौं।’

वित्तीय संस्थाबाट २० लाखभन्दा कम ऋण लिएकाहरुको मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण भए ६ प्रतिशतभन्दा बढी ब्याज लिन नहुने उनको भनाइ थियो । केही दिनअघि प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट करिब ५ अर्ब रुपैयाँ ऋण लिएको सार्वजनिक गरेका थिए ।

बैंकप्रति अराजक बनेका उनले बी एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको रेटिङ गराएर अल्पकालीन तथा दीर्घकालीन कर्जा लिएका हुन् । उक्त कम्पनीमार्फत् प्रसाईंले दीर्घकालीन कर्जाका लागि २ अर्ब ६० करोड १२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १० करोड रुपैयाँ रेटिङ गराएका छन् ।

प्रदेश १ को झापामा अस्पताल सञ्चालन गर्दै आएको कम्पनीले सन् २०२२ मा १ अर्ब १९ करोड ६० लाख (अपरिष्कृत) आम्दानी गरेको छ । कम्पनीले सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ५३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो।

सन् २०११ मा स्थापना भएको अस्पतालले विभिन्न प्रकारका सेवा दिँदै आएको छ । इन्दिरा गिरी अध्यक्ष रहेको कम्पनीमा दुर्गाप्रसाद प्रसाईं कार्यकारी निर्देशक छन् । कम्पनीमा गिरी र प्रसाईंबाहेक अन्य दुई जनाको लगानी छ ।

अस्पतालमा ६१५ जना कर्मचारी छन् भने ४६६ जना मेडिकल कर्मचारी छन् । कम्पनीले सन् २०२१ को तुलनामा सन् २०२२ मा ४६.९६ प्रतिशतले आम्दानी बढेको जनाएको छ । कम्पनीअनुसार सन् २०२२ मा कोभिड बिरामीको संख्या बढ्दा आम्दानी उच्च भएको उल्लेख छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ को ५ महिनाको अवधिमा ३९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएसँगै बाहिरीबाट आउने बिरामी संख्या कम हुँदा आम्दानी घटेको उल्लेख गरेको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ म ८.०७ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ११.४० प्रतिशत नाफा कमाएको थियो । जसमा कम्पनीले सन् २०२२ मा २० करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १७ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।


क्लिकमान्डु